गुगलले पिक्सेल ११ सिरिजबाहेक अरु के के सार्वजनिक गर्यो? यस्ता छन् अन्य डिभाइस र सुविधा

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
गुगलले पिक्सेल ११ सिरिजबाहेक अरु के के सार्वजनिक गर्यो? यस्ता छन् अन्य डिभाइस र सुविधा

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले बुधबार चिर प्रतीक्षित पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ।

पिक्सेल ११ सिरिज अन्तर्गत पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्ड रहेका छन्। यसबाहेक कम्पनीले निम्नलिखित अन्य नयाँ डिभाइस तथा सुविधाहरु पनि सार्वनिक गरेको छ।

टेन्सर जी ६ चिप

नयाँ जेमिनी नानो ४ मोडलले ५० प्रतिशत बढी कम्प्युट र दोब्बर मेमोरी ब्यान्डविथ भएको टीपीयूको फाइदा उठाउँछ। यसका कारण डिभाइसमा हुने एआई कार्यहरू ३.५ गुणासम्म छिटो हुने र ३.५ गुणासम्म कम ऊर्जा खपत हुने बताइएको छ। यसैबीच सीपीयूले एप लोड हुने गति १५ प्रतिशत र वेब ब्राउजिङ गति २५ प्रतिशत बढाउँछ।

अपग्रेड गरिएको आईएसपी (इमेज सिग्नल प्रोसेसर) ले क्यामरामा जुमको दायरा विस्तार र कम प्रकाशमा फोटो खिच्दा सुधारजस्ता सुविधा उपलब्ध गराउँछ। नयाँ कस्टम एक्सेलेरेटरले फोरके बोकेह भिडियोका लागि पोर्ट्रेट भिडियो खिच्न र रेन्डर गर्न सहयोग गर्छ।

नयाँ टाइटन एम३ सुरक्षा चिप पनि राखिएको छ, जसले भविष्यमा क्वान्टम कम्प्युटिङबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबाट जोगाउन सहयोग गर्नेछ।

नयाँ पिक्सेल क्यामरा तथा भिडियो सुविधा

क्यामरा एपको स्वरूप धेरै परिवर्तन गरिएको छैन। तर नयाँ सुविधाहरू समेट्न गुगलले यसमा विभिन्न परिवर्तन गरेको छ। उदाहरणका लागि, क्विक एक्सेस कन्ट्रोल्समा ह्वाइट ब्यालेन्स, एक्सपोजर र स्याडोजसँगै लुक्स, फोकस, शटर स्पीड र आईएसओका लागि नयाँ स्लाइडर थपिएका छन्। नयाँ इन्टरफेसले भ्यूफाइन्डरको बायाँ र दायाँ किनारामा ट्याप गरेपछि देखिने एपहरू पनि छनोट गर्न दिन्छ।

म्याजिक क्याप्चर गुगल क्लिप्सजस्तै सुविधा हो। यसमा सेसन सुरु गरेपछि गुगलले उत्कृष्ट एचडीआर प्लस फोटो र भिडियो आफैं छनोट गर्छ। क्यामरा र भिडियो मोडको छेउमा रहेको नयाँ ट्याबबाट पहुँच गर्न सकिने यस सुविधाले करिब ५०० फ्रेम विश्लेषण गरेर उपयुक्त शट छनोट गर्छ।

यसमा क्रपिङ, स्ट्रेटनिङ, अनब्लर लगायतका सामान्य सम्पादन विकल्प पनि छन्। यसको उद्देश्य प्रयोगकर्ताले क्यामरा देखाएर क्षणमा केन्द्रित हुन सक्नु हो।

क्यामरा लुक्सले फोटो खिच्ने समयमै पूर्वनिर्धारित सौन्दर्य शैली छनोट गर्न दिन्छ। गुगलले क्यामरा पाइपलाइनमा केही परिवर्तन गरेको छ। यसमा सामान्यभन्दा कम फ्रेम मर्ज गरेर कम प्रशोधित अनुभूति दिने तथा सेन्सर तहमा कलर लुकअप टेबल परिवर्तन गरेर क्लासिक फिल्मको रसायनशास्त्रको शैली अनुकरण गर्ने प्रविधि समावेश छ।

९टू५गुगलका अनुसार पिक्सेल ११ मा यी वैकल्पिक एचडीआर विकल्प उपलब्ध छन्:

नेचुरल: आरामदायी विवरण
श्याडोज: गहिरो कन्ट्रास्ट
भेनिला: न्यानो, नरम र सुनौलो टोन

यसका साथै डिजि, ब्ल्याक टाई, मिनिमल, एडिटोरियल, क्लासिक र भेल्भेटजस्ता शैली पनि उपलब्ध छन्। प्रयोगकर्ताले यी शैलीमा थप सम्पादन गर्न सक्नेछन्। डिभाइसमा हुने भिडियो प्रोसेसिङमा शार्पनिङ, न्वाइज र डिटेल सुधार गरिएको छ। पिक्सेल ११ प्रो मा उज्यालो र हल्लिएको अवस्थामा प्रो स्टेबल भिडियो सक्रिय हुनेछ।

नयाँ क्रियटर सुइटले क्यामरा एपमा विभिन्न उपकरण थप्छ। यसमा बोल्दै गर्दा पाठ स्क्रोल गर्ने टेलिप्रम्टर, क्लिपलाई निश्चित स्थानमा सुरक्षित गर्ने प्रोजेक्ट फोल्डर, क्यामरा भ्यूफाइन्डरमै माइक्रोफोन जाँच गर्ने अडियो भिजुअलाइजर र गुगल फोटोजको सहयोगमा क्लिप काटेर पुनःक्रम मिलाउने स्टोरीबोर्ड समावेश छन्। सोसल मिडिया ग्रिड लाइन पनि उपलब्ध छन्।

जेमिनी इन्टेलिजेन्स

पिक्सेल ११ सिरिजमा जेमिनी आधारित कार्य स्वचालन सुविधा थप एपमा काम गर्ने गरी विस्तार गरिएको छ। यसबाट अर्डर तथा बुकिङका काम गर्न सकिन्छ। जेमिनी ले काम पूरा गर्न व्यवसायहरूमा फोनसमेत गर्न सक्छ।

जीबोर्ड र्याम्बलरले सामान्य स्पिच–टु–टेक्स्टभन्दा अगाडि बढेर लामो वाक्य तथा ‘उम’ र ‘अँ’ जस्ता अनावश्यक शब्द हटाउँछ। सक्रिय हुँदा र्याम्बलरले जीबोर्डको सुझाव स्ट्रिपलाई नयाँ वेभफर्म एनिमेसनसहित प्रतिस्थापन गर्छ। यसले प्रयोगकर्ताको आशय बुझेर सफा र छोटो भ्वाइस ट्रान्सक्रिप्सन तयार गर्छ।

पहिले म्याजिक क्यू भनिने प्रोएक्टिभ असिस्टेन्सले अब थप अवस्थामा सान्दर्भिक सुझाव दिन्छ। यी सुझावमा ट्याप गर्दा नयाँ बटम सिट खुल्छ। यसमा उडानको विस्तृत जानकारी, लाइभ स्टाटसका लिंक, गुगल म्याप्सका स्थान, कार्यक्रम तय गर्दा क्यालेण्डर को प्रिभ्यू, टेबल बुकिङजस्ता काम र विभिन्न विकल्पको तुलना देख्न सकिन्छ।

जेमिनी इन्टेलिजेन्सले कार्यक्रमलाई क्यालेण्डर मा सुरक्षित गर्न तथा अन्य विवरण गुगल वालेटमा राख्न पनि सुझाव दिन सक्छ।

गुगलले नयाँ एट अ  ग्लान्स सुविधाको परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्ताको स्थान हेरेर पसलमा पुग्दा लोयल्टी कार्ड तथा रेस्टुरेन्टमा पुग्दा गुगल म्याप्सका सूची देखाउन सक्छ।

गत वर्ष फोन कलमा ल्याइएको लाइभ ट्रान्सलेट सुविधा अब यूट्युब तथा अन्य समर्थित एपका पोडकास्ट र भिडियोमा पनि विस्तार हुँदैछ। टेन्सर जी६ को सहयोगमा यसले वास्तविक समयमा अडियो डबिङ गर्न सक्नेछ।

नयाँ पिक्सेलस्न्याप एक्सेसरिज

नयाँ पिक्सेलस्न्याप केसका रङ फोनसँग मिल्ने छन्। यस वर्ष नयाँ क्लियर केस पनि उपलब्ध हुनेछ। पिक्सेलस्न्याप रिङ स्ट्याण्ड अब क्यानयोन, अलिभ र अब्सिडियन रङमा उपलब्ध हुनेछ।

पिक्सेल ट्याग

गुगल पिक्सेल ट्याग एउटा फाइण्ड हब ट्र्याकर हो, जसको मूल्य २९ डलर वा चारवटाको प्याकका लागि ९९ डलर छ। यो ‘जी’ लोगो भएको गोली आकारको उपकरण हो। यसको पछाडिको सिक्का आकारको ब्याट्री निकालेर फेर्न सकिन्छ। यो एक्सेसरी नोभेम्बर ११ देखि मात्र उपलब्ध हुनेछ।

पिक्सेल बड्स प्रो २ अपडेट 

पिक्सेल बड्स प्रो २ मा अलिभ रङको नयाँ विकल्प थपिएको छ। यसबाहेक पिक्सेल बड्स प्रो २ र पिक्सेल बड्स २ए का लागि सेप्टेम्बरमा ठूलो सफ्टवेयर अपडेट आउनेछ।

नयाँ प्रो २ फर्मवेयरले इयरबड कानमा कसरी बसेका छन् भन्ने आधारमा न्वाइज क्यान्सिलेसन सुधार गर्नेछ। कानमा इयरबडको फिटमा सामान्य परिवर्तन हुँदा त्यसअनुसार न्वाइज क्यान्सिलेसन समायोजन हुनेछ। पिक्सेल बड्स प्रो २ र पिक्सेल बड्स २ए दुवैले जेमिनी अडियो कन्ट्रोल सुविधा पाउनेछन्। यसबाट ‘हे गुगल, टर्न अप द बास’ जस्ता भ्वाइस कमान्डमार्फत सेटिङ परिवर्तन गर्न सकिनेछ।

पिक्सेल वाचको स्लीप सिङ्कले प्रयोगकर्ता सुतेको पहिचान गरी संगीत रोक्ने, टच बन्द गर्ने र नोटिफिकेसन मौन बनाउनेछ। अपग्रेड गरिएको लाइभ ट्रान्सलेटमा ट्याप गरेर लिसनिङ मवड सक्रिय गर्न सकिनेछ र ७० भन्दा बढी भाषा लगभग वास्तविक समयमा बुझ्न सकिनेछ।

 

पिक्सेल वाच ५

पिक्सेल वाच ५ को बाहिरी डिजाइन गत वर्षको मोडलजस्तै छ। तर यसपटक यसमा स्न्यापड्रागन डब्लू५ जेन २ एक्सलरेटेड प्रयोग गरिएको छ, जसले सीपीयू प्रशोधन क्षमतामा १२ प्रतिशत सुधार गर्छ।

र्याम २ जीबीबाट बढाएर ३ जीबी पुर्‍याइएको छ। यी सुधारसँगै एम५५ को–प्रोसेसरका कारण डिभाइस २० प्रतिशतसम्म छिटो हुने बताइएको छ। स्टोरेज पनि दोब्बर गरेर ६४ जीबी बनाइएको छ।

पिक्सेल वाच ५ ले सहरका केन्द्र, ट्रेल तथा अन्य कठिन वातावरणमा रुट ट्र्याकिङ र म्यापिङमा दुई गुणा बढी शुद्धता दिने दाबी गरिएको छ। गुगलका अनुसार यसले एप्पल वाच अल्ट्रा ३ र गार्मिन फेनिक्स ८ प्रो भन्दा राम्रो प्रदर्शन गर्छ।

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार