राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
राप्ती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एप’

काठमाडौं ।

दाङको राप्ती गाउँपालिकाले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानलाई मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली र पशुपालनसम्बन्धी जानकारी दिने अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।

किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउनका लागि यस्तो एप सञ्चालनमा ल्याइएको हो। बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेतीसम्बन्धी आवश्यक जानकारी एपबाट प्राप्त गर्न सकिने उनको भनाइ छ।

यसैगरी, कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची पनि एपमार्फत हेर्न सक्नेछन् । त्यसैगरी, पालिकाले प्रकाशन गरेका कृषि क्षेत्रसम्बन्धी सूचना, कार्यक्रम तथा विभिन्न सेवाको आवेदन एपबाटै हेर्न सकिनेछ।

एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ। किसानले कृषि उत्पादन, पशुपालन, रोग–कीरा व्यवस्थापनलगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। रासस

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×