काठमाडौं ।
कनेक्टेड कारको प्रयोग बढ्दै गएसँगै सडकमा मोबाइल नेटवर्कको कभरेज र कभरेज नहुने क्षेत्रबारे चासो बढेको छ।
स्याटेलाइट सञ्चालक भायास्याटले ५जी अटोमोटिभ एसोसिएसन (फाइभजीएए)सँगको सहकार्यमा गरेको नयाँ सर्वेक्षणले ७६ प्रतिशत चालकले हरेक साता मोबाइल सिग्नल गुमाउने गरेको देखाएको छ। धेरै यात्रा गर्ने केही चालकले सातामा चार घण्टाभन्दा बढी समय मोबाइल सिग्नलबिनै बिताउने गरेको सर्वेक्षणमा पाइएको छ।
भायास्याटका लागि विशेष चासोको विषय ७५ प्रतिशत उत्तरदाताले कारभित्र स्याटेलाइट कनेक्टिभिटीका लागि शुल्क तिर्न तयार रहेको बताउनु हो। तीमध्ये ४३ प्रतिशतले आपत्कालीन कललाई सबैभन्दा उपयोगी सेवा मानेका छन् भने १७ प्रतिशतले जोखिम तथा ट्राफिकसम्बन्धी अलर्टलाई प्राथमिकता दिएका छन्।
भायास्याट र फाइभजीएएले बेलायत, अमेरिका, इन्डोनेसिया, फ्रान्स, भारत, क्यानडा, जापान, जर्मनी र ब्राजिलसहित १० देशका १ हजार ६ सयभन्दा बढी चालकसँग कारभित्र स्याटेलाइट कनेक्टिभिटीप्रतिको धारणा र त्यसका लागि शुल्क तिर्ने इच्छाबारे सर्वेक्षण गरेका थिए।
टेलिकम्स डटकमका अनुसार सडक तथा ड्राइभिङ अवस्था र मोबाइल नेटवर्क कभरेजमा देशअनुसार फरक हुने भएकाले चालकहरूको धारणा पनि क्षेत्रअनुसार फरक देखिएको छ।
उदाहरणका लागि, फ्रान्सका ३३ प्रतिशत उत्तरदाताले आफूहरू सातामा करिब एक घण्टा मोबाइल कभरेजबाहिर रहने बताएका छन्। इन्डोनेसियामा यस्तो अवस्था बताउनेको संख्या ६६ प्रतिशत पुगेको छ।
भारत र ब्राजिलका उत्तरदाताले पनि यस्तै समस्या रहेको बताएका छन्। त्यसैले यी बजारमा कारका लागि गैर-स्थलीय नेटवर्क (एनटीएन) कनेक्टिभिटीका लागि शुल्क तिर्ने इच्छा बढी देखिएको छ।
भायास्याटका इन्टरप्राइज उपाध्यक्ष एन्डी केस्लरले चालकहरूले लामो समयसम्म नेटवर्क कभरेज नपाउने समस्या सामना गरिरहेको र स्याटेलाइटसँग जोडिएको कारको सम्भावनाप्रति उत्साहित रहेको बताए।
उनका अनुसार सुरक्षासम्बन्धी सेवा यसको पहिलो र प्रमुख फाइदा हुनेछ भने निरन्तर र विश्वसनीय विश्वव्यापी कनेक्टिभिटीले भविष्यका विभिन्न सेवा विकास गर्न सकिनेछ।
फाइभजीएएका सदस्यहरूले यसअघि नै कारका लागि ३जीपीपीमा आधारित गैर-स्थलीय नेटवर्क (एनटीएन) कनेक्टिभिटीको प्रदर्शन गरिसकेका छन्। त्यसैले यस्तो प्रविधिका लागि उपभोक्ताको माग रहेको देखाउनु संस्थाका लागि महत्वपूर्ण भएको छ।
फाइभजीएको एनटीएन प्रविधिसम्बन्धी कामको नेतृत्व गर्ने ओलाफ एकार्टका अनुसार चालकहरू आपत्कालीन कल र वास्तविक समयका जोखिमसम्बन्धी अलर्टजस्ता स्याटेलाइटमा आधारित सुरक्षा सेवाका लागि उत्साहित छन्।
उनले कनेक्टेड सवारीको भविष्य अघि बढाउन तथा चालक र समुदायको सुरक्षा, कनेक्टिभिटी र आवागमन सुधार गर्न अटो निर्माता, दूरसञ्चार प्रदायक र प्रविधि साझेदारसँग सहकार्य गरिरहेको बताए।
सर्वेक्षणका निष्कर्ष भायास्याट र ५जीएको आफ्नै हितसँग पनि सम्बन्धित भए पनि यसले कारमा स्याटेलाइट कनेक्टिभिटीको सम्भावित मागबारे जानकारी दिएको छ।
फाइभजीएको एनटीएन रोडम्यापमा हाल दुई चरण निर्धारण गरिएको छ।
पहिलो चरणमा आधारभूत इन्फोटेनमेन्ट सेवाहरू समेटिएका छन्, जसका लागि ४०० केबीपीएस वा त्यसभन्दा कमको न्यारोब्यान्ड कनेक्टिभिटी आवश्यक पर्ने अपेक्षा गरिएको छ। यी सेवा सन् २०२९ को पहिलो छमाहीमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यसमा आपत्कालीन कल, विपद्का बेला ट्राफिक व्यवस्थापन, स्थानीय तथा दुर्गम क्षेत्रमा सडक र सुरक्षा सूचना लगायतका सेवा समावेश छन्। पहिलो चरणमा फ्लीट व्यवस्थापकका लागि रिमोट मोनिटरिङ तथा पहुँच र भ्वाइस कलिङ पनि समेटिएका टेलिकम्स डटकमले उल्लेख गरेको छ।
दोस्रो चरणका सेवा सन् २०३० को मध्यतिर उपलब्ध गराउने योजना छ। यी सेवाका लागि १० एमबीपीएसभन्दा कमदेखि १० एमबीपीएसभन्दा बढीको गति आवश्यक पर्ने अपेक्षा गरिएको छ। यस चरणका सेवा पहिलो चरणभन्दा थप उन्नत हुनेछन्।
यसमा टेलिअपरेटेड ड्राइभिङ सपोर्ट, स्वचालित सवारी तथा एचडी नक्साका लागि जोखिम र म्यापिङसम्बन्धी सूचना संकलन तथा आदानप्रदान र ओभर-द-एयर सफ्टवेयर अपडेटजस्ता सेवा समावेश हुनेछन्। मनोरञ्जनतर्फ स्ट्यान्डर्ड डेफिनिसनदेखि ८केसम्मको भिडियो स्ट्रिमिङ र कन्सियर्ज सेवाहरू समावेश हुनेछन्।
दोस्रो चरणको विस्तार पहिलो चरणभन्दा लामो समय लाग्ने अपेक्षा गरिएको छ। योजना अनुसार यसको कार्यान्वयन सन् २०३२ को अन्त्यतिर पूरा हुन सक्नेछ।
कनेक्टिभिटीका लागि फाइभजीएएले सामान्यतया ५जी एनआर प्रविधिसहितका लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रयोग हुने अपेक्षा गरेको छ।
यी सेवा उपलब्ध हुने समयसम्म स्थलीय कनेक्टिभिटीमा पनि उल्लेख्य विकास भइसकेको हुनेछ र केही अग्रणी बजारमा ६जी उपलब्ध हुने सम्भावना छ।
तर सर्वेक्षणका उत्तरका आधारमा विश्वका विभिन्न क्षेत्रमा अटोमोटिभ एनटीएन कनेक्टिभिटीको माग अझै बलियो रहने सम्भावना रहेको देखिन्छ।
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार