फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा

  • Technology Khabar | १५ श्रावण २०८३, शुक्रबार
फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा

काठमाडौं ।

बहुराष्ट्रिय कम्पनी ‘हायर स्मार्ट होम’ ‘फर्चुन ग्लोबल ५००’ सूचीमा १२ स्थान माथि उक्लँदै ३७८ औँ स्थानमा पुग्न सफल भएको छ। २८ जुलाईमा सार्वजनिक भएको नयाँ सूचीमा कम्पनीले उक्त स्थानमा पुगेको हो।

विश्वव्यापी ब्रान्डको सुदृढ उपस्थिति र आन्तरिक रूपमा गरिएको एआईको प्रयोगका कारण कम्पनीले यो सफलता हासिल गरेको बताइएको छ। हायर स्मार्ट होमले आफ्नो ब्रान्ड पोर्टफोलियो अन्तर्गत हायर, कसार्टे, लिडर, जीई एप्लायन्सेज, फिसर एन्ड पेकेल, अक्वा र क्यान्डी जस्ता ब्रान्ड सञ्चालन गर्दै आएको छ।

यी ब्रान्डले आ-आफ्नो स्थानीय बजारको माग अनुरूप स्वतन्त्र रूपमा उत्पादन र अनुसन्धान गर्दै अग्रणी भूमिका खेलिरहेका छन्। कम्पनीको दावीअनुसार उत्तर अमेरिकामा जीई एप्लायन्सेज लगातार चार वर्षदेखि अग्रणी स्थानमा रहँदै बजार हिस्सा विस्तार गर्न सफल भएको छ भने यूरोपेली बजारलाई मध्यनजर गर्दै आफ्नो सेवालाई प्राथमिकता दिँदै यूरोपेली मापदण्डभन्दा ७० प्रतिशत कम ऊर्जा खपत गर्ने ‘एक्स११’ वासिङ मसिन बनाएर २० भन्दा बढी मुलुकमा १० लाखभन्दा बढी बिक्री भएको छ।

यसै गरी दक्षिण-पूर्वी एसियामा पनि शीर्ष स्थान हासिल गर्दै कम्पनीले नयाँ एयर कन्डिसनर उत्पादन केन्द्र स्थापना गरेर स्थानीय बजारमा आफ्नो उत्पादन क्षमता बलियो बनाएको छ। कम्पनीको आन्तरिक कार्य प्रणालीलाई चुस्त बनाउन आफ्नै एआई मोडल र एकीकृत प्रविधि प्लेटफर्म विकास गरेको छ।

यस अन्तर्गत ‘झि-शाओनेङ’ नामक एआई डिजिटल एसिस्टेन्टले ६० हजारभन्दा बढी प्रयोगकर्तालाई स्वतन्त्र रूपमा फलोअप गर्न मद्दत गरिरहेको छ। उत्पादन इन्जिनियरिङमा पुराना तथ्याङ्कका आधारमा कार्य योजना बनाउँदा घण्टौँ लाग्ने काम केही मिनेटमै सकिनुका साथै शुद्धतामा २० प्रतिशतले सुधार आएको कम्पनो दावी छ।

यस प्रविधिको प्रयोगले नयाँ उत्पादन विकासको चक्र ३० प्रतिशतले छोटिएको छ, उत्पादन क्षमता २० प्रतिशतले बढेको छ भने प्रशासनिक तथा बिक्री खर्चको अनुपात लगातार पाँच वर्षदेखि घट्दै गइरहेको छ।

यी दुई बलिया पक्ष अर्थात् विश्वव्यापी बजार र एआई प्रविधिको फ्युजनबाट हायरले आफ्नो स्मार्ट होम व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ। एआई एजेन्टमा आधारित यस स्मार्ट होम प्रणालीमा हाल विश्वभर १३ करोड दर्ता भएका प्रयोगकर्ता छन्, जहाँ प्रयोगकर्ता र एआई बिच वार्षिक ८६.१ अर्ब पटक अन्तर्क्रिया हुने गर्छ।

यूरोमोनिटर इन्टरनेसनलले समेत यसलाई बिक्रीका आधारमा विश्वकै पहिलो स्थानमा रहेको स्मार्ट होम कम्पनीका रूपमा प्रमाणित गरेको छ।

यसरी ठूला घरायसी उपकरणबाट स्मार्ट होम प्रविधिको नेतृत्वदायी भूमिकामा रूपान्तरण हुनु र फर्चुन सूचीमा निरन्तर माथि उक्लनुले कम्पनीको दीर्घकालीन रणनीतिक सबलतालाई थप स्पष्ट पारेको कम्पनीको बुझाई छ।

प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...