काठमाडौं ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) र सदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले संयुक्त रूपमा यस समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता (एआई) र भविष्यका लागि आवश्यक प्रविधि सीपहरू नेपालका सातै प्रदेशका युवा नेपालीहरूका माझ पुर्याउनु रहेको बताइएको छ।
सम्बन्धित कलेजको दावी अनुसार अत्याधुनिक प्रविधि शिक्षा अब केवल पाठ्यपुस्तकहरूमा मात्र सीमित र काठमाडौं उपत्यकामा मात्रै केन्द्रित हुने छैन। यो गतिशील तथा युवा–केन्द्रित अभियानले कक्षा कोठाको सिकाइ र वास्तविक प्रविधि उद्योग बीचको खाडललाई पुर्दै विद्यार्थीहरूलाई प्रविधिको सामान्य उपभोक्ताबाट डिजिटल इनोभेटरको रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको हो ।
‘यो साझेदारी भनेको अवरोधहरू पन्छाएर हाम्रा युवाहरूको वास्तविक सम्भावनालाई बाहिर ल्याउनु हो,’ क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले भने, ‘हामी चाहन्छौं कि युवा नेपालीहरूले एआईको प्रयोग मात्र नगरून् उनीहरू आफैं यसको निर्माण गरून्, यसलाई आकार दिऊन् र विश्वव्यापी डिजिटल क्रान्तिको नेतृत्व गरून्। सातै प्रदेशमा यी बुटक्याम्प र स्टार्टअप कार्यक्रमहरू पुर्याएर हामी यो सुनिश्चित गर्दैछौं कि नेपालका प्रत्येक युवा दूरदर्शीले राष्ट्रिय अवसरमा आफ्नो स्थान पाऊन्।’
कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक ढाँचाहरूलाई व्यावहारिक उद्योग अनुभवसँग मिलाएर विद्यार्थीहरूका लागि प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रत्यक्ष मार्ग तयार गर्दै रहेको बताए। ‘भोलिका चुनौतीहरूको सामना गर्न तयार दक्ष र प्रविधि(मैत्री जनशक्ति तयार पार्ने दिशामा यो एक साहसी कदम हो,’ उनले भने
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार