अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

  • Technology Khabar | ९ श्रावण २०८३, शनिबार
अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित भाडाको घरमा सञ्चालित कार्यालयबाट एसिया तथा युरोपका विभिन्न देश घुमाउन लैजाने भन्दै अनलाइनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी विदेश भ्रमण, उपहारलगायत आकर्षक योजना देखाई कुपन भराएर रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

हालसम्म ३० जनाबाट करिब नौ लाख ६६ हजार रूपैयाँ ठगेको र १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर उक्त कार्यमा संलग्न गराएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, आठ थान विभिन्न रजिस्ट्रर तथा अभिलेख पुस्तिका, छ थान रसिद, चार थान स्ट्याम्प तथा विभिन्न व्यक्तिका नाममा काटिएका रसिदका अर्धकट्टी बरामद गरेको छ । रासस

प्रकाशित: ९ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...