काठमाडौं ।
अमेरिकाका २५ जना सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युरोपेली संघ (ईयू) का प्रविधि सम्बन्धी नियमविरुद्ध कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले ईयूका डिजिटल नीतिले अमेरिकी ठूला प्रविधि कम्पनीहरूलाई अन्यायपूर्ण रूपमा लक्षित गरेको भन्दै व्यापार सम्बन्धी अनुसन्धान सुरु गर्न समेत सुझाव दिएका छन्।
रोयटर्सले प्राप्त गरेको पत्रमा सांसदहरूले ईयूको डिजिटल मार्केट्स एक्ट (डीएमए) लाई केन्द्रमा राखेका छन्। यो कानुन अमेजन, एप्पल, बुकिङ होल्डिङ्स, टिकटकको स्वामित्व रहेको बाइटडान्स, गुगल, मेटा र माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीहरूको बजार शक्ति नियन्त्रण गर्न ल्याइएको हो।
पत्रमा सांसदहरूले लेखेका छन्, “ईयूले अमेरिकी कम्पनीहरूविरुद्ध आर्थिक लाभ लिन र नियामकीय दबाब सिर्जना गर्न प्रतिस्पर्धाविरोधी कार्य, नीति र अभ्यासलाई निरन्तर प्रयोग गरिरहेको छ। ईयूले यो अमेरिकीविरोधी व्यवस्था अझ मजबुत बनाउनुअघि तपाईंको प्रशासनले निर्णायक कदम चालोस् भन्ने हाम्रो आग्रह छ।”
युरोपेली आयोगले भने अमेरिकी कम्पनीहरूमाथि विभेद गरेको आरोप अस्वीकार गरेको छ।
आयोगका प्रवक्ता थोमस रेग्नियरले भने, “आफ्नो भूभागभित्र हुने आर्थिक गतिविधिलाई नियमन गर्ने सार्वभौम अधिकार ईयूसँग छ।”
उनले थपे, “यो हाम्रो डिजिटल नियमनमा पनि लागू हुन्छ। हामी सधैंझैं आफ्ना नियम निष्पक्ष र कुनै विभेद नगरी लागू गरिरहनेछौं।”
रोयटर्सका अनुसार पत्रमा हस्ताक्षर गर्ने सबै सांसद रिपब्लिकन पार्टीका हुन्। तीमध्ये सात जना प्रतिनिधि सभाको व्यापार उपसमितिका सदस्य हुन्, जसमा उपसमितिका अध्यक्ष एड्रियन स्मिथ पनि छन्।
उनीहरूले अमेजन र माइक्रोसफ्टका क्लाउड सेवा पनि डीएमए अन्तर्गत समावेश गरिएमा युरोपेली र चिनियाँ प्रतिस्पर्धी क्लाउड कम्पनीहरूले नबेहोर्ने अभूतपूर्व नियामकीय भार अमेरिकी कम्पनीमाथि पर्ने बताएका छन्।
सांसदहरूले डीएमए उल्लंघन गरेको आरोपमा यसै साता घोषणा हुनसक्ने गुगलमाथिको जरिवानाको पनि आलोचना गरेका छन्। उनीहरूले गुगलले आफ्नो खोज सेवा (सर्च) मा गरेको महत्वपूर्ण परिवर्तनलाई आयोगले बेवास्ता गरेको बताएका छन्।
उनीहरूले एप्पल, मेटा र अमेजनलाई डीएमए अन्तर्गत “गेटकिपर” घोषणा गरिएको तर चिनियाँ अनलाइन खुद्रा कम्पनी टेमु र अलीएक्सप्रेसलाई त्यसबाट बाहिर राखिएको विषयमा पनि प्रश्न उठाएका छन्। यस्तो वर्गीकरण युरोपमा रहेका प्रयोगकर्ताको संख्याका आधारमा गरिन्छ।
सांसदहरूले भनेका छन्, “यदि वार्ताबाट छिट्टै समाधान निस्किएन भने सन् १९७४ को ट्रेड एक्टको सेक्शन ३०१ लगायत उपलब्ध सबै उपाय प्रयोग गर्नुपर्छ।” उक्त कानुनले अनुचित व्यापार अभ्यास भएको ठहरिएमा अमेरिका सरकारले भन्सार शुल्क वा अन्य प्रतिकारात्मक कदम चाल्न अनुमति दिन्छ।
उनीहरूले ईयूलाई अमेरिकी बजारमा पहुँच सुनिश्चित नभएको र डिजिटल क्षेत्रमा विभेदपूर्ण नीति जारी रहेमा त्यो पहुँच सीमित गर्न सकिने चेतावनी पनि दिएका छन्।
सांसदहरूले युरोपेली कम्पनीहरूले अमेरिकी बजारमा कुनै अवरोधबिना पहुँच पाइरहेको उदाहरण पनि दिएका छन्।
युरोपेली आयोगले भने ट्रान्स-अटलान्टिक डिजिटल संवाद दुवै पक्षको हितमा रहेको जनाएको छ।
प्रवक्ता रेग्नियरले भने, “ईयू–अमेरिका संयुक्त वक्तव्यमा उल्लेख गरिएका विषयसहित डिजिटल क्षेत्रका विभिन्न मुद्दामा नियामकीय स्वतन्त्रताको सम्मान गर्दै सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको हामी विश्वास गर्छौं।”
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार