आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान

  • Technology Khabar | ६ श्रावण २०८३, बुधबार
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान

काठमाडौं ।

झापाको गौरीगञ्ज गाउँपालिका–३ का ५२ वर्षीय किसान सीताराम खड्कालाई केही वर्षअघिसम्मका ती दिन अझै झल्झली याद आउँछ। असार–साउनको हिलोमा दर्जनौँ खेताला खोज्न घरघर धाउनुपर्ने, महँगो ज्याला तिर्नुपर्ने र आकासेपानीको भरपर्दा समयमै रोपाइँ नसकिने पीर । तर, यो दृश्य अहिले फेरिएको छ।

“पहिले पाँच बिघा खेत रोप्न कम्तीमा ५० जना मजदुर चाहिन्थ्यो । दुई हप्ताभन्दा बढी समय त रोपाइँमै बित्थ्यो । समयमा मजदुर नपाइने, पाए पनि ज्याला महँगो हुने र खाना–खाजा खुवाउँदा–खुवाउँदै पैसा नै सिद्धिने पीर हुन्थ्यो”, अन्नपूर्ण कृषक समूहका अध्यक्ष समेत रहेका खड्का आफ्ना पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “बाली काट्ने र दाइँ गर्ने बेलामा पनि उस्तै सास्ती ! तर, अहिले त्यो कथा इतिहास बनेको छ।”

किसान खड्काको जस्तै अचेल झापाका अधिकांश खेतमा न त मजदुरको अभावले रोपाइँ रोकिन्छ, न त बाली भित्र्याउनै ढिलाइ हुन्छ । हलो, कोदालो र गोरुको ठाउँमा अहिले झापाका धानखेतहरूमा ‘राइस ट्रान्सप्लान्टर’, ‘कम्बाइन हार्भेस्टर’ र ‘पावरटिलर’जस्ता आधुनिक कृषि यन्त्रहरूले काम गरिरहेका देखिन्छन् । “केही वर्षअघिसम्म मेसिनले पनि धान रोप्छभन्दा पत्याउनै गाह्रो हुन्थ्यो”, अर्का स्थानीय किसान तेजबहादुर मगरले विगत सम्झिँदै भने, “तर अहिले समय बदलिएको छ । खेत जोत्ने, बीउ छर्ने, धान रोप्नेदेखि बाली काट्ने र दाइँ गर्नेसम्मका सबै काम मेशिनकै भरमा हुन थालेको छ । पहिले हप्तौँसम्म खेताला खोज्न हैरान हुनुपथ्र्यो, अहिले घण्टौँमै काम सकिन्छ । यसले हाम्रो श्रम, समय र खेती गर्दा लाग्ने कुल खर्च आधाभन्दा बढी घटाइदिएको छ ।”

उनको खेतमा अहिले मजदूरको अभावले रोपाइँ रोप्नुपर्ने समस्याबाट मुक्ति मिलेको छ। “अहिले राइस ट्रान्सप्लान्टर मेसिनले त्यही पाँच बिघा खेत एक दिनमै रोपेर सकिन्छ। कम्बाइन हार्भेस्टरले दुई–तीन घण्टामै धान काटेर, दाइँ गरी बोरामा हालेर घर पुर्याइदिन्छ”, हर्षित मुद्रामा मगरले भने, “जहाँ पहिले प्रतिबिघा १५ देखि १८ हजार रुपैयाँसम्म रोपाइँ–कटाइमा खर्च हुन्थ्यो, अहिले मेसिनको प्रयोगले त्यो लागत झण्डै आधामा सीमित भएको छ।”

मुख्यगरी झापाका दक्षिणी क्षेत्रमा धान खेतीमा कृषि मेशिन तथा आधुनिक उपकरण प्रयोग गर्ने किसानको सङ्ख्या बर्सेनि तीव्र रूपमा बढ्दै गएको छ। धानको बीउ छर्ने, जमिन तयार गर्ने, रोपाइँ गर्ने, बाली काट्ने, दाइँ गर्ने र अन्न छुट्याउनेसम्मका काममा मेसिनको प्रयोग बढेको छ । गाउँका अधिकांश युवा वैदेशिक रोजगारी र अन्य पेसामा आकर्षित भएपछि सिर्जित ‘कृषि मजदुरको अभाव’लाई झापाली किसानले प्रविधिको प्रयोग गरेर अवसरमा बदलेका छन्।

५० प्रतिशत अनुदानले ल्याएको यान्त्रीकरणको लहर

धान उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक मानिने झापामा परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउन सरकारी तथा सहकारी क्षेत्रबाट पनि उल्लेख्य प्रोत्साहन भइरहेको छ ।

गत आव २०८२÷८३ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत झापाका ‘जोन’ तथा ‘सुपरजोन’ क्षेत्रमा ५० प्रतिशत अनुदानमा ठूलो सङ्ख्यामा आधुनिक उपकरणहरू वितरण गरिएको छ ।

यस कार्यक्रममार्फत किसान, कृषक समूह तथा सहकारीहरूलाई रबर ट्रयाक भएका चार वटा कम्बाइन हार्भेस्टर, एउटा चारचक्के ‘राइस ट्रान्सप्लान्टर’, एउटा ‘सेल्फ प्रोपेल्ड रिपर’ तथा एउटा थप ‘रिपर’सहित छ वटा ‘पावर टिलर’ र ‘मिनी टिलर’ उपलब्ध गराइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम झापाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीका अनुसार यस्ता आधुनिक प्रविधिको प्रवेश र विस्तारले जिल्लाको कृषि क्षेत्रमा नयाँ उत्साह र ऊर्जा भरेको छ। “कृषि यन्त्रको प्रयोगले किसानको उत्पादन लागत ह्वात्तै घटाएको छ”, सुवेदी भन्छन्, “वर्षायाममा मौसमको भर हुँदैन, छोटो समयमा धेरै क्षेत्रफलमा खेती सम्पन्न गर्न र उत्पादन बढाउन यान्त्रीकरणले महत्वपूर्ण काम गरेको छ । अनुदानले साना र मध्यमस्तरका किसानलाई पनि आधुनिक प्रविधिमा जोड्न ठूलो मद्दत पुर्याएको छ । एक हिसाबलेभन्दा झापाका गाउँबस्तीका खेत र फाँटहरुमा आधुनिक कृषि प्रविधिले कृषि क्रान्ति ल्याइदिएको छ ।”

साना किसानका लागि सहारा : ‘कस्टम हायरिङ सेन्टर’

लाखौँ मूल्य पर्ने महँगा कृषि यन्त्रहरू साना र सीमान्तकृत किसानले आफैँ खरिद गर्न सम्भव हुँदैन । यही समस्याको व्यावहारिक र दीर्घकालीन समाधान बनेको छ, ‘कस्टम हायरिङ सेन्टर’ (सहुलियत भाडामा उपकरण पाइने केन्द्र)। झापाका विभिन्न स्थानमा सञ्चालित यी केन्द्रहरूबाट साना र सीमित जग्गा भएका किसानले सस्तो भाडादरमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटर, कल्टिभेटर र लेजर ल्यान्ड लेभलरजस्ता अत्याधुनिक प्रविधि भाडामा ल्याएर प्रयोग गरिरहेका छन् अर्थात् यी कृषि प्रविधिमार्फत सहज रुपमा साना र सीमान्तकृत किसानको पहुँच आधुनिक प्रविधिसँग पुर्याइएको छ।

झापा गाउँपालिकास्थित टाघनडुब्बा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्रचन्द्र सिंह राजवंशी यस्ता प्रविधिलाई किसानको वरदान मान्छन् । “वर्षायाममा मौसम छिनछिनमा बदलिन्छ । पहिले महिना दिन लाग्ने रोपाइँ अहिले मेसिनको सहायताले केही दिनमै सकिन्छ । विशेषगरी साना किसानका लागि ‘कस्टम हायरिङ’ सेवाले ठूलो आर्थिक राहत पु¥याएको छ”, राजवंशीले बताए।

त्यस्तै, गौरीगञ्ज गाउँपालिका–३ स्थित अन्नपूर्ण कृषक समूहका कोषाध्यक्ष गीतामाया चौधरीका अनुसार समूह र सहकारीमार्फत यन्त्र सञ्चालन गर्दा निजी क्षेत्रको तुलनामा धेरै सस्तो पर्छ। “हामीले हाम्रा सदस्यहरूलाई बजारकोभन्दा निकै कम मूल्यमा उपकरण उपलब्ध गराउँदै आएका छौँ । यसले गर्दा दुई–तीन कठ्ठामा खेती गर्ने साना किसानले पनि प्रविधिको पूर्ण लाभ लिन पाएका छन्”, चौधरीले खुसी व्यक्त गरे।

विशेषगरी ‘लेजर ल्यान्ड लेभलर’ को प्रयोगले खेत सम्याउँदा सिँचाइको पानी २५ देखि ३० प्रतिशतसम्म बचत हुने र मल तथा बीउको समान उपयोग भई धानको उत्पादनमा १० देखि १५ प्रतिशतसम्म वृद्धि आएको कृषि प्राविधिकहरूको भनाइ छ ।

अझै कायमै छन् चुनौती 

धान खेतीमा यान्त्रीकरणले अभूतपूर्व फड्को मारे पनि व्यावहारिक रूपमा केही चुनौतीहरू अझै खड्किरहेका छन् । खासगरी आधुनिक मेसिन सञ्चालन गर्ने र बिग्रँदा मर्मत गर्ने दक्ष जनशक्तिको स्थानीयस्तरमा चरम अभाव छ । मुख्य रोपाइँ वा बाली कटानीको मुख्य याममै मेसिन बिग्रँदा तत्काल बनाउने ‘वर्कसप’ र ‘स्पेयर पाट्र्स’ नपाएर कामै रोकिने जोखिम उत्तिकै रहन्छ ।

साथै, जग्गाको खण्डीकरणका कारण साना र टुक्रे खेतसम्म ठूला कम्बाइन हार्भेस्टर लैजान सडक र गराको समस्याले पनि किसानलाई पिरोल्ने गरेको छ । निजी मेसिन सञ्चालकले मनपरी भाडा लिने गरेकाले सरकारी तवरबाटै निश्चित भाडादर निर्धारण हुनुपर्ने माग किसानको छ ।

प्रविधिले ल्याएको सहजतासँगै सिर्जित यस्ता समस्यालाई समाधान गर्न स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले विशेष पहल गर्नुपर्ने किसानको जोड छ । झापा गाउँपालिकाका किसान चेतनाथ उप्रेतीका अनुसार गाउँमै युवालाई लक्षित गरी मेसिन सञ्चालन तथा मर्मतसम्बन्धी तालिम दिन सके जनशक्तिको समस्या सुल्झिनुका साथै रोजगारीको नयाँ अवसरसमेत सिर्जना हुनेछ ।

“प्रविधि त आयो, अब स्थानीय तह र कृषि ज्ञान केन्द्रले मेसिन चलाउने र मर्मत गर्ने तालिम गाउँकै युवालाई दिनुपर्छ”, उप्रेती थप्छन्, “यसका साथै इन्धनको बढ्दो मूल्य नियन्त्रण र मेसिनको भाडादरमा एकरूपता ल्याउनसके साना र वास्तविक किसानले प्रविधिको पूर्ण लाभ लिन सक्नेछन् ।”

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कार्यालयले गत आवमा प्रविधिमा आधारित धानखेतीलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदान र सीप विकासका कार्यक्रम सञ्चालन गरेको छ । मेसिनको प्रयोग गरी धानखेती गर्ने किसानलाई उपकरण प्रयोग लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनुका साथै बीउ र नर्सरी व्यवस्थापनका लागि जिल्लाका चार वटा कृषि सहकारीमार्फत व्यावहारिक तालिम प्रदान गरिएको उहाँले जानकारी दिए।

यसै कार्यक्रमअन्तर्गत कुल ३१५ बिघा क्षेत्रफलमा मेसिनमार्फत धानखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान रकम वितरण गरिएको प्रमुख विष्टले बताए।

अबको बाटो : प्रविधिसँगै बजार र समर्थन मूल्य

झापाका धानखेतमा बढेको प्रविधिको प्रयोग कृषि क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्ने किसानको सपना पूरा गर्ने एउटा बलियो माध्यम बनेको छ । यद्यपि, प्रविधिको यो आशालाग्दो सुरुआतलाई दिगो बनाउन भने वर्षैभरि सिँचाइको सुविधा, समयमै रासायनिक मलको आपूर्ति र गुणस्तरीय बीउको ग्यारेन्टी हुनु अनिवार्य छ । मेसिन प्रयोग गरेर उत्पादन लागत घटाए पनि किसानले उत्पादित धानको उचित र समर्थन मूल्य समयमै पाउनुपर्छ । लागत घटेर उत्पादन बढे पनि बजारमा बिचौलियाको दबदबा कायम रहे किसानको आर्थिक जीवनस्तर उठ्न सक्दैन ।

उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउने, अर्कातिर डिजेल, मल र बीउको लागत लगातार महँगिँदैजानाले किसानले मेहनतअनुसारको सोचेजस्तो प्रतिफल अझै पाउन सकेका छैनन् ।

‘कस्टम हायरिङ’ सेन्टरको दायरा गाउँगाउँसम्म विस्तार गर्ने, स्थानीयस्तरमै मर्मत केन्द्र खोल्ने, साना किसानमैत्री मेसिनहरू भित्र्याउने र उत्पादित धानको खरिद सुनिश्चित गर्ने हो भने झापाको यो ‘प्रविधि क्रान्ति’ समग्र देशकै लागि एउटा उदाहरणीय, प्रेरणादायी र अनुकरणीय नमुना बन्ने पक्का छ।

प्रकाशित: ६ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ६ श्रावण २०८३, बुधबार