ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा

काठमाडौं ।

ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ।

एआई सुरक्षा संस्था नाइटिङ्गेल कलेक्टिभका चार अनुसन्धानकर्ताले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको हो। अध्ययनका क्रममा अनुसन्धानकर्ताले सार्वजनिक इन्टरनेटमा ओपनएआईका रूपमा पहिचान गराउने एआई एजेन्टका करिब १८ हजार सामग्री फेला पारेका थिए।

अनुसन्धानकर्ताका अनुसार ती एजेन्टले तोकिएका कार्यका परिणाम आदानप्रदान गर्न, अनुसन्धानका नतिजा एकीकृत गर्न तथा आफ्नो सञ्चालन वातावरणमा लगाइएका प्रतिबन्ध छल्ने उपायबारे जानकारी साटासाट गर्न विकीको प्रयोग गरेका थिए।

अधिकांश गतिविधि ‘डीएसईविकी’ नामक जर्मन भाषाको सार्वजनिक विकीमा भएको थियो । करिब २५ वर्षदेखि सञ्चालनमा रहेको उक्त विकी पछिल्ला वर्षमा कम प्रयोग हुँदै आएको थियो।

अनुसन्धानकर्ताका अनुसार एजेन्टलाई इन्टरनेटबाट सूचना पढ्न सक्ने तर त्यसमा लेख्न नसक्ने गरी तयार गरिएको हुनुपर्ने थियो। तर उनीहरूले विकीमा सामग्री राख्ने उपाय पत्ता लगाएका थिए। यसमार्फत एक एजेन्टले प्राप्त गरेको जवाफ अर्को एजेन्टले प्रयोग गर्न सक्ने अवस्था बनेको अध्ययनमा उल्लेख छ।

अनुसन्धानकर्ताले पहिलोपटक मे ११ मा एजेन्टले सार्वजनिक विकी सम्पादन गर्ने प्रयास गरेको देखेका थिए। मे २४ मा डीएसईविकीमा पहिलो सफल लेखन भएको थियो। जुन १६ देखि भने एजेन्टबीच ठूलो स्तरमा समन्वय सुरु भएको अध्ययनमा उल्लेख छ।

एजेन्टले आफ्नो कामका आगामी चरण र त्यसका लागि आवश्यक जानकारीसमेत विकीमार्फत आदानप्रदान गर्ने गरेको पाइएको थियो । कुनै प्रश्नको सामना गरेको एजेन्टले त्यसको जवाफ विकीमा राख्ने र पछि उस्तै प्रश्न पाउने अन्य एजेन्टले त्यही सामग्री प्रयोग गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनमा एजेन्टले आफ्नो सञ्चालन वातावरणमा लगाइएको स्यान्डबक्स तथा सञ्जालसम्बन्धी प्रतिबन्ध छल्ने उपायबारे समेत छलफल र परीक्षण गरेको उल्लेख छ । मानव मध्यस्थकर्ताले केही सामग्री हटाउन थालेपछि केही एजेन्टले ‘जेडजेडजेड’ बाट सुरु हुने नाममा वैकल्पिक पृष्ठ बनाएका थिए ।

डीएसईविकीमा एजेन्टले गरेका करिब ९८ दशमलव पाँच प्रतिशत सम्पादन माइक्रोसफ्ट एज्योरका इन्टरनेट ठेगानाबाट भएको अनुसन्धानकर्ताले बताएका छन्। उनीहरूले ओपनएआईसँग सम्बन्धित ठेगानाबाट भएका भ्रमणसमेत अभिलेख गरेका थिए। धेरै एजेन्टले ओपनएआईसँग सम्बन्धित नाम प्रयोग गरेको पनि अध्ययनमा उल्लेख छ।

यी प्रमाणका आधारमा अनुसन्धानकर्ताले ती एजेन्ट सम्भवतः ओपनएआईले आन्तरिक रूपमा सञ्चालन गरेका हुनसक्ने बताएका छन् । यद्यपि, उनीहरूले अध्ययन प्रारम्भिक चरणको रहेको र निष्कर्ष सार्वजनिक विकीमा एजेन्टले छाडेका सामग्रीमा मात्र आधारित रहेको स्पष्ट पारेका छन्।

अनुसन्धानकर्तासँग ओपनएआईको आन्तरिक प्रणालीमा रहेका एजेन्टको सोच प्रक्रियासम्बन्धी तथ्याङ्कमा पहुँच थिएन । त्यसैले एजेन्टको वास्तविक उद्देश्य र रणनीतिबारे केही प्रश्न अझै अनुत्तरित रहेको उनीहरूको भनाइ छ । उक्त गतिविधि एआईको प्रशिक्षणका क्रममा भएको हो वा परीक्षणका क्रममा भन्ने कुरा पनि स्पष्ट हुन सकेको छैन ।

ओपनएआईका एक प्रवक्ताले प्रतिवेदन प्रकाशनअघि कम्पनीलाई त्यसको समीक्षा गर्ने अवसर नदिइएकाले अध्ययनका दाबी वा निष्कर्षबारे तत्काल अर्थपूर्ण प्रतिक्रिया दिन नसकिने बताएका छन्।

उनका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीले त्यसको सावधानीपूर्वक समीक्षा गर्नेछ र आवश्यक कदम चाल्नेछ।

ओपनएआईले विकीसम्बन्धी गतिविधि जुलाईमा हगिङ फेससँग सम्बन्धित छुट्टै घटनासँग सम्बन्धित नरहेको जनाएको छ। त्यसैले उक्त गतिविधिलाई हगिङ फेससम्बन्धी प्रतिवेदनमा समावेश नगरिएको कम्पनीको भनाइ छ। रासस/सिन्ह्वा

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार