आकाशमा “शनिको घेरा” जस्तो स्याटेलाइटहरूको चम्किलो कृत्रिम घेरा देखिन सक्ने वैज्ञानिकहरुको चेतावनी
Technology Khabar | ६ श्रावण २०८३, बुधबार
Loading...
Shares
तस्बिर: स्पेस डटकम
काठमाडौं ।
यदि अन्तरिक्षमा १० लाखभन्दा बढी डाटा सेन्टर उपग्रह र दशौँ हजार अन्तरिक्ष ऐना प्रक्षेपण गर्ने योजना कार्यान्वयन भयो भने रातको आकाशमा चम्किलो कृत्रिम “शनिको घेरा” जस्तो उपग्रहहरूको घेरा देखिन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
यो घेरा सूर्यास्तपछि र सूर्योदयअघि धेरै घण्टासम्म आकाशमा देखिने, सबै तारा र ग्रहभन्दा बढी चम्किलो हुने तथा पृथ्वीको जुनसुकै स्थानबाट पनि देख्न सकिने उनीहरूको भनाइ छ।
बेलायतको बर्मिङ्घम विश्वविद्यालयका अन्तरिक्ष विज्ञानका प्राध्यापक ह्युग लुइसले स्पेस डटकमसँग भने, प्रस्ताव गरिएका यति धेरै अन्तरिक्ष डाटा सेन्टर उपग्रह राख्न तिनलाई दिन र रात छुट्याउने सीमारेखामाथिको एउटै कक्षीय समतलमा तह–तह गरी राख्नुपर्ने हुन्छ। त्यसले पृथ्वी वरिपरि कृत्रिम “शनिको घेरा” जस्तो संरचना बनाउनेछ।
उनले भने, “राति आकाशतिर हेर्दा ती सबै उपग्रह एउटै समतलमा, एकअर्काको निकै नजिक र एउटै दिशामा गइरहेको देखिनेछन्। यसको असर रातको आकाशका लागि पूर्ण रूपमा विनाशकारी हुनेछ।”
लुइसले शहरको कृत्रिम प्रकाशबाट टाढा गएर अहिले पनि देख्न सकिने आकाशगंगा र तारामण्डलको दृश्य भविष्यमा हराउन सक्ने चेतावनी दिए।
केही वर्षअघि यस्तो कुरा विज्ञान कथाजस्तो लागे पनि गत वर्षदेखि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने योजनाहरू बढेसँगै यो सम्भावना वास्तविक बन्दै गएको उनले बताए।
स्पेसएक्स, स्टारक्लाउड, काउबोय स्पेस, अर्बिटल र ब्लु ओरिजिनलगायत कम्पनीहरूले संयुक्त रूपमा १० लाखभन्दा बढी डाटा सेन्टर उपग्रह प्रक्षेपण गर्न अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) सँग अनुमति मागेका छन्। चीनले पनि आगामी पाँच वर्षभित्र अन्तरिक्षमा डाटा सेन्टर सञ्जाल विकास गर्ने योजना अघि सारेको छ।
स्पेस डटकमका अनुसार ससँगै क्यालिफोर्नियास्थित रिफ्लेक्ट अर्बिटलले सूर्यास्तपछि पृथ्वीका सौर्य ऊर्जा केन्द्रमा प्रकाश पठाउन ५० हजार अन्तरिक्ष ऐना प्रक्षेपण गर्ने योजना बनाएको छ। कम्पनीले जुलाई १० मा एफसीसीबाट पहिलो परीक्षण ऐना उपग्रह “एरेन्डिल–१” प्रक्षेपण गर्ने अनुमति पाएको छ। १८ मिटर × १८ मिटर आकारको यो प्रदर्शन उपग्रह यसै वर्षको अन्त्यसम्म प्रक्षेपण गर्ने लक्ष्य छ।
लुइसका अनुसार यी सबै डाटा सेन्टर र अन्तरिक्ष ऐना निरन्तर सूर्यको प्रकाश पाउन दिन–रातको सीमारेखा पछ्याउने एउटै कक्षामा रहनुपर्छ। यो कक्षा उत्तर र दक्षिण ध्रुव हुँदै जाने भएकाले उपग्रहहरू पृथ्वी वरिपरि एउटै घेरामा रहनेछन्।
उनले भने, “अन्तरिक्ष डाटा सेन्टर र रिफ्लेक्ट अर्बिटल दुवै २४ घण्टा सूर्यको प्रकाश पाउने कक्षामा निर्भर छन्। त्यसका लागि बिहान–साँझको सीमारेखा पछ्याउने विशेष कक्षामा रहनुपर्छ। यो स्टारलिङ्कजस्तो पृथ्वीभरि फैलिएको उपग्रह सञ्जाल होइन।”
क्यानडाको रेजाइना विश्वविद्यालयकी खगोलविद् सामन्था ललर पनि लुइसको विश्लेषणसँग सहमत छिन्। उनले आफ्ना सहकर्मीसँग मिलेर स्पेसएक्सको स्टारमाइन्ड, ब्लु ओरिजिनको प्रोजेक्ट सनराइज र काउबोय स्पेसको स्टाम्पिडलगायत प्रस्तावित डाटा सेन्टर उपग्रह समूहको प्रभाव कम्प्युटर मोडेलमार्फत अध्ययन गरेकी छन्।
उक्त मोडेलअनुसार पृथ्वीबाट देखिने उपग्रहहरू आकाशका सबै तारा भन्दा मात्र होइन, तिनको सङ्ख्याभन्दा पनि धेरै देखिनेछन्।
ललरका अनुसार पृथ्वी घुमिरहँदा यो कृत्रिम “शनिको घेरा” दिनमा दुई पटक आकाश पार गर्नेछ। यो साँझ करिब ६ बजेदेखि ८ बजेसम्म र फेरि सूर्योदयअघि देखिनेछ।
उनले भनिन्, “यो घेरा हरेक रात उही समयमा हाम्रो टाउकोमाथिबाट जानेछ। त्यसैले यसको प्रभाव गर्मी मौसमभन्दा जाडोयाममा अझ बढी हुनेछ।”
अनुसन्धानका प्रमुख सामन्था ललरले यी दृश्यात्मक मोडेल सार्वजनिक रूपमा उपलब्ध तथ्यांकका आधारमा तयार गरिएको र वास्तविक उपग्रहहरूको प्राविधिक विवरणसँग पूर्ण रूपमा मेल नखान सक्ने बताएकी छन्। अध्ययन अझै सहकर्मी समीक्षा (पियर रिभ्यु) पनि भएको छैन।
तर उनका अनुसार कृत्रिम घेराबाट परावर्तित प्रकाशले सूर्य अस्ताएपछि पनि करिब दुई घण्टासम्म आकाश उज्यालो बनाइराख्नेछ। यसले करदाताको पैसाबाट सञ्चालित दूरबिनहरूको उपयोगिता घटाउने र पृथ्वीनजिकका खतरनाक क्षुद्रग्रह खोज्ने जस्ता महत्वपूर्ण अनुसन्धानमा गम्भीर असर पार्ने उनले चेतावनी दिइन्।
यो कृत्रिम घेरा संसारको जुनसुकै स्थानबाट देखिने भएकाले त्यसबाट बच्ने उपाय नहुने अनुसन्धानकर्ताहरूको भनाइ छ। मोडेलअनुसार ब्लु ओरिजिनको प्रोजेक्ट सनराइज जस्ता केही उपग्रह समूहले अतिरिक्त कक्षीय झुकाव अपनाउने भएकाले आकाशमा अंग्रेजी अक्षर ‘एक्स’ जस्तो आकृति समेत देखिन सक्छ।
यो घेराको चमक उपग्रहहरूको सङ्ख्यामा निर्भर हुनेछ। तर रिफ्लेक्ट अर्बिटलका प्रत्येक अन्तरिक्ष ऐना पूर्णिमापछिको सबैभन्दा चम्किलो आकाशीय वस्तु शुक्र ग्रहजत्तिकै चम्किलो हुने भएकाले समग्र घेरा अत्यन्तै उज्यालो हुने अनुमान गरिएको छ।
यसअघि युरोपेली दक्षिणी वेधशालाको अध्ययनले ५० हजार यस्ता ऐनाले रातको आकाशको चमक ३०० प्रतिशतसम्म बढाउन सक्ने र विश्वका अत्याधुनिक दूरबिनहरू प्रभावित हुने देखाएको थियो।
खगोलविद् जोन बारेन्टिनका अनुसार अहिले पृथ्वी उपग्रह र अन्तरिक्ष फोहोरले घेरिएको कृत्रिम घेरायुक्त ग्रह बनिसकेको छ। रिफ्लेक्ट अर्बिटलजस्ता परियोजनाले त्यसलाई अझ चम्किलो “शनिको घेरा” जस्तो स्थायी दृश्यमा बदल्न सक्ने उनले बताएका छन्।
यद्यपि यस्ता परियोजनाको उद्देश्य भने उपयोगी मानिएको छ। अन्तरिक्षमा डाटा सेन्टर सञ्चालन गर्दा चिस्याउने प्रणाली र सौर्य ऊर्जा सहज हुने भएकाले पृथ्वीमा पर्ने ऊर्जा र वातावरणीय दबाब कम हुन सक्छ।
रिफ्लेक्ट अर्बिटलले रातको समयमा सूर्यको प्रकाश परावर्तित गरी सौर्य ऊर्जा उत्पादन, कृषि, निर्माणस्थल तथा विपद् उद्धारमा सहयोग पुर्याउने योजना अघि सारेको छ। कम्पनीले वैज्ञानिक समुदायसँग सहकार्य गर्दै परीक्षण, मापन र स्वतन्त्र अनुसन्धानका आधारमा प्रविधि विकास गरिरहेको जनाएको छ।
तर स्पेस डटकमसँग कुरा गरेका खगोलविद्हरूले यस्तो उपग्रह समूह र खगोल अनुसन्धान सँगै सम्भव नरहेको बताएका छन्। ललरले स्पष्ट रूपमा भनिन्, “यदि कक्षामा यस्ता ऐना राखिए भने खगोल विज्ञान समाप्त हुन्छ।”
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटी (एएएस) ले पनि परीक्षण उपग्रह प्रक्षेपणको अनुमति दिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) को निर्णयको आलोचना गरेको छ। एएएसका अनुसार यस्ता उपग्रहले अनुसन्धान दूरबिनमा अवरोध पुर्याउने, पाइलट तथा चालकलाई चकाचौंध बनाउने र मध्यम आकारका दूरबिनबाट हेर्दा आँखामा समेत स्थायी क्षति पुर्याउन सक्ने जोखिम छ।
यसअघि स्पेसएक्सले स्टारलिङ्क उपग्रहको चमक घटाउन विशेष प्रविधि प्रयोग गरे पनि पछिल्ला ठूलो आकारका उपग्रह फेरि धेरै चम्किला बनेको ललरले बताइन्। उनका अनुसार अहिले स्टारलिङ्क उपग्रह नाङ्गो आँखाले पनि सजिलै देखिन्छन्।
एफसीसीले भने अप्टिकल खगोल विज्ञानको संरक्षण आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने जनाएको छ। तर ललर र एएएसले उपग्रह प्रक्षेपणबाट रातको आकाश तथा वैज्ञानिक अनुसन्धानमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्। बेलायतको रोयल एस्ट्रोनोमिकल सोसाइटीका कार्यकारी निर्देशक रोबर्ट मेसीले पनि यस्तो निर्णयले भविष्यमा ५० हजारसम्म उपग्रह तैनाथ गर्ने गलत नजिर स्थापित गरेको टिप्पणी गरेका छन्।