काठमाडौं ।
के तपाईं अपरिचित व्यक्तिसँग भिडियो कल गर्दै हुनुहुन्छ? नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग नजिकिएर भिडियो कल गर्दा वा आफ्ना गोप्य तस्बिरहरू आदानप्रदान गर्दा ‘सेक्सटोर्सन’ को गम्भीर सिकार बन्न सक्ने भन्दै आफ्नो आधिकारिक फेसबुक पेज मार्फत एउटा भिडियो सेयर गर्दै मानिसलाइ सर्तक रहन आग्रह गरेको छ।
ब्यूरोका अनुसार अपराधीहरूले भिडियो कल रेकर्ड गरी इन्टरनेटमा भाइरल गरिदिने वा आफन्तलाई पठाइदिने धम्की दिँदै ब्ल्याकमेल गरेर रकम असुल्ने गरेका छन्।
ब्यूरोले अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट र भिडियो कल कहिल्यै स्वीकार नगर्न आग्रह गरेको छ। त्यसैगरि, अनलाइनमा आफ्ना नितान्त व्यक्तिगत र गोप्य तस्बिर वा भिडियो कसैलाई पनि सेयर नगर्न समेत भनेको छ।
ब्ल्याकमेलिङ्गको शिकार भएमा आत्तिएर पैसा नतिर्न भनेको छ भने तुरुन्तै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्न आग्रह गरेको छ।
एआईमार्फत् बनाइएको भिडियो पोस्टमा एउटी युवतीलाई अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आउँछ र उनले नयाँ साथीका रुपमा स्विकार गर्छिन्। कुरा गर्दै जाँदा ती व्यक्तिले सबै कुरा रेकर्ड गरेको र बाहिर ल्याइदिने धम्की दिँदै पैसा माग्छ।
बाध्य भएकी ती युवती पैसा दिन तयार हुन्छिन्। यतिकैमा रोक्नुस सचेतना, यो अनलाइन स्क्याम हो भन्ने पुरुष आवाज आउँछ।
त्यसपछि भिडियोमै देखिएको महिला प्रहरी आकृतिले भन्छ: ठगी गर्नेहरुले फेक एकाउन्ट बनाएर साथी बन्छन्। भिडियो कलमा अश्लील तथा निजी गतिविधि गर्न लगाएर फसाउँछन् वा रेकर्डिङ गर्छन्। पछि पैसा मागेर ब्ल्याकमेलिङ गर्छन्। नदिए भिडियो शेयर गर्ने धम्की दिन्छन्। यो एक गम्भीर साइबर अपराध हो। यस्तो अवस्थामा पैसा नपठाउनुस्। आफूसँग भएको प्रमाण लिई तुरुन्त साइबर ब्यूरोमा निवेदन दिनुहोस्।’
त्यसपछि ती युवतीले प्रहरीलाई धन्यवाद दिँदै आफू पनि सचेत बन्ने र अरुलाई पनि सचेत गराउने बताउँछिन्।
पुरुष आवजले अगाडि भन्छ, ‘भिडियो कलमा निजी कुराकानी वा हर्कत नगर्नुहोस्। सबै प्रमाण स्क्रीनशट, कल लग सुरक्षित राख्नुहोस् र प्रहरीमा जानुहोस्। ‘
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार