काठमाडौं ।
एप्पलले आगामी वर्ष आफ्नो चिप रणनीतिमा ठूलो परिवर्तन गर्न सक्ने संकेत देखिएको छ। ब्लुमबर्गका पत्रकार मार्क गर्मनको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले आफ्नो आगामी एम६ चिपको प्रो वा म्याक्स संस्करण सार्वजनिक नगर्न सक्छ। यदि यस्तो भएमा एप्पलले आफ्नै सिलिकन चिप सुरु गरेयता पहिलो पटक केवल आधारभूत संस्करण मात्र उपलब्ध गराउनेछ।
प्रतिवेदनअनुसार एप्पलले थप शक्तिशाली एम६ प्रो र म्याक्स चिप ल्याउनुको सट्टा सिधै एम७ पुस्तातर्फ जाने योजना बनाएको छ। एम७ चिपहरू कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यहरूलाई केन्द्रमा राखेर डिजाइन गरिने बताइएको छ।
यस वर्षको एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एआई र सिरी प्रमुख विषय बनेकाले आगामी हार्डवेयरमा पनि एप्पलले उपकरणमै चल्ने एआई सुविधामा जोड दिने अपेक्षा गरिएको छ।
इन्ग्याजेटका अनुसार एम६ का शक्तिशाली संस्करणहरू नल्याएमा एप्पलले सन् २०२७ को पूर्वार्धमा एम७ चिप सार्वजनिक गर्न सक्ने बताइएको छ। त्यसपछि सन् २०२७ को अन्त्यतिर एम७ प्रो र एम७ म्याक्स संस्करण आउन सक्नेछन्। एप्पलले एम३ पुस्तापछि अल्ट्रा संस्करण सार्वजनिक गरेको छैन, तर प्रतिवेदनअनुसार सन् २०२८ मा एम७ अल्ट्रा चिप पनि आउन सक्ने सम्भावना छ।
यो रणनीतिक परिवर्तनले एप्पलको सम्भावित पहिलो टचस्क्रिन ल्यापटपको योजनामा असर पार्छ वा पर्दैन भन्ने स्पष्ट छैन। यसअघि एम६ म्याकबुक प्रोसँगै टचस्क्रिन ल्यापटप आउने चर्चा भएको थियो।
एप्पलले यस वर्षको सुरुआतमा एम५ प्रो र एम५ म्याक्स चिप सार्वजनिक गरिसकेको छ भने सन् २०२६ को अन्त्यअघि प्रवेशस्तरका म्याकबुकका लागि एम६ चिप घोषणा हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १४ असार २०८३, आईतवार