लन्डन अन्डरग्राउन्डका थप क्षेत्रमा मोबाइल नेटवर्क विस्तार

  • Technology Khabar | २ असार २०८३, मंगलवार
लन्डन अन्डरग्राउन्डका थप क्षेत्रमा मोबाइल नेटवर्क विस्तार

काठमाडौं ।

लन्डन अन्डरग्राउन्ड (ट्युब) का थप क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गरिएको छ। न्यूट्रल होस्ट प्रदायक बोल्डिन नेटवर्क्स र ट्रान्सपोर्ट फर लन्डन (टीएफएल) का अनुसार बेकरलु, मेट्रोपोलिटन र सर्कल लाइनका थप खण्डमा अहिले ४जी र ५जी सेवा उपलब्ध भएको छ।

हाल भूमिगत रहेका करिब ६० प्रतिशत स्टेशनमा मोबाइल नेटवर्क सेवा उपलब्ध भइसकेको जनाइएको छ।

पछिल्ला केही सातामा बेकरलु लाइनको क्विन्स पार्क र एड्गवेयर रोडबीचको सुरुङ खण्ड, मेट्रोपोलिटन लाइनको युस्टन स्क्वायर र किङ्स क्रस सेन्ट प्यान्क्रासबीच तथा बार्बिकन र मुरगेटबीच मोबाइल सेवा विस्तार गरिएको छ। सर्कल र डिस्ट्रिक्ट लाइनमा क्यानन स्ट्रिट र मोनुमेन्ट, स्लोन स्क्वायर र भिक्टोरिया तथा बेजवाटर र प्याडिङ्टनबीचका खण्डमा पनि नेटवर्क उपलब्ध भएको छ।

सुरुङ खण्डबाहेक भक्सहल, टेम्पल, नाइन एल्म्स र ग्लोसेस्टर रोडजस्ता ठूला स्टेशनमा पनि सेवा सञ्चालनमा आएको छ। किङ्स क्रस सेन्ट प्यान्क्रास, भिक्टोरिया र प्याडिङ्टन स्टेशनमा पनि चरणबद्ध रूपमा सेवा विस्तार भइरहेको छ। ती स्टेशनहरूको आकार र जटिलताका कारण सुरुआतमा टिकट हल र प्लेटफर्ममा सेवा केन्द्रित गरिएको छ।

डकल्यान्ड्स लाइट रेलवे (डीएलआर) का भूमिगत खण्ड तथा विन्डरस लाइनको हाईबरी एन्ड इस्लिङ्टनदेखि न्यू क्रससम्म मोबाइल सेवा विस्तार गर्ने काम पनि भइरहेको छ।

थ्री, ईई, भोडाफोन र भर्जिन मिडिया ओटु (भीएमओटू) ले यस परियोजनामा सहभागिता जनाइरहेका छन्। यो योजना लन्डनका मेयर र टीएफएलको सम्पूर्ण यातायात सञ्जालमा मोबाइल कनेक्टिभिटी पुर्‍याउने प्रतिबद्धताको हिस्सा हो।

सम्बन्धित निकायहरूका अनुसार यस वर्षको अन्त्यसम्म सम्पूर्ण ट्युब सञ्जालमा मोबाइल नेटवर्क उपलब्ध गराउने लक्ष्यअनुसार काम भइरहेको छ। साथै आगामी गर्मीयामको अन्त्यसम्म नर्दर्न, बेकरलु र मेट्रोपोलिटन लाइनका अधिकांश सुरुङ खण्डमा पनि नेटवर्क सेवा पुग्ने अपेक्षा गरिएको छ।

टीएफएलकी सूचना प्रविधि निर्देशक रेबेका बिसेलले यात्रुहरूलाई थप मोबाइल सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताइन्। उनका अनुसार यसले यात्रुहरूलाई यात्रा गर्दा परिवार र साथीहरूसँग सम्पर्कमा रहन, अनलाइन किनमेल गर्न तथा समाचार र खेलकुदका नतिजा हेर्न सहज बनाउनेछ। उनले वर्षको अन्त्यसम्म सम्पूर्ण ट्युब सञ्जालमा ४जी र ५जी सेवा विस्तार गर्ने लक्ष्य रहेको र त्यसका लागि ६०० भन्दा बढी इन्जिनियरहरूले रातभर काम गरिरहेको बताइन्।

बोल्डिन नेटवर्क्स यूकेका प्रमुख सञ्चालन अधिकृत निक हड्सनले टीएफएलसँगको सहकार्यमार्फत लाखौं यात्रुहरूलाई दैनिक यात्राका क्रममा निरन्तर सम्पर्कमा राख्न मद्दत गरिरहेको बताए। उनले सार्वजनिक–निजी साझेदारीमार्फत लन्डन अन्डरग्राउन्डको प्रत्येक भागमा ४जी र ५जी सेवा पुर्‍याउने प्रतिबद्धता पूरा भइरहेको र यसले लन्डनलाई विश्वकै सबैभन्दा राम्रोसँग जडित शहरमध्ये एक बनाउन सहयोग गर्ने बताए।

यसैबीच बोल्डिन नेटवर्क्सले अमेरिकाको सान फ्रान्सिस्कोस्थित बीएआरटी यातायात सञ्जालका चार प्रमुख स्टेशनमा वाइ–फाइ ६ई सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। विश्वकप प्रतियोगितालाई लक्षित गर्दै १६थ स्ट्रीट/मिसन, २४थ स्ट्रीट/मिसन, ग्लेन पार्क र बाल्बोआ पार्क स्टेशनमा यो सेवा सुरु गरिएको हो।

बोल्डिन नेटवर्क्स अमेरिकाकी प्रमुख सञ्चालन अधिकृत डाना टार्डेलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै जाँदा बीएआरटीसँगको साझेदारीमार्फत थप सुरुङ र स्टेशनमा फाइबर, वाइ–फाइ र ५जी प्रविधि विस्तार भइरहेको बताइन्। उनका अनुसार राम्रोसँग जडित यातायात पूर्वाधारले लाखौं स्थानीय बासिन्दा र आगन्तुकलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।

फेब्रुअरीमा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थल, वेस्ट ओकल्यान्ड, एम्बार्काडेरो, सिभिक सेन्टर र पावेल स्ट्रिट स्टेशनमा सेवा सुरु गरिएपछि अहिले बीएआरटीका नौ स्टेशनमा निःशुल्क वाइ–फाइ उपलब्ध भएको छ।

प्रकाशित: २ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...