पर्वतारोहण सुरक्षामा सञ्चार उपकरण, ड्रोन जस्ता अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
पर्वतारोहण सुरक्षामा सञ्चार उपकरण, ड्रोन जस्ता अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौं ।

अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले आज यहाँ आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

उनले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताइन्।

उनले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरिन। उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दुवै देशबीचको सम्बन्ध पर्यटन, शिक्षा, व्यवसाय, प्रविधि र जनस्तरको आदानप्रदानमार्फत निरन्तर बलियो बन्दै गएको छ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गरिन्। यस्ता प्रविधिले खोज तथा उद्धार, मौसम पूर्वतयारी, लजिस्टिक व्यवस्थापन र पर्वतारोहण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।

उनले सन् २०२५ मा नेपालले ११ लाख ५० हजारभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक भित्र्याएको र त्यसमध्ये अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, पदप्रदर्शक सेवा तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्।

रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन। उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन।

“हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,” उनले भनिन, “संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरूसँगै चढ्न चाहन्छ।”

त्यस अवसरमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तरराष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक भएको बताइन्।

उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गरिन। रासस

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार