
काठमाडौं ।
अमेरिकी दूरसञ्चार कम्पनी टी-मोबाइलले युनाइटेड स्टेट्स गल्फ एसोसिएसन (यूएसजीए) सँग सम्झौता गर्दै यूएस वुमेन्स ओपन, यूएस ओपन तथा अन्य केही गल्फ च्याम्पियनसिपका लागि आधिकारिक ५जी नेटवर्क साझेदार बनेको छ।
५जी साझेदारको रूपमा टी–मोबाइलले मोबाइल रुल्स रिभ्यु, प्रतियोगिता स्थलमा कनेक्टिभिटी सेवा तथा सदस्यहरूका लागि केही विशेष अनुभवहरू उपलब्ध गराउनेछ।
सम्झौताअन्तर्गत क्यालिफोर्नियाको द रिभिएरा कन्ट्री क्लबमा हुने यूएस वुमेन्स ओपन, न्यूयोर्कको शिनेकक हिल्स गल्फ क्लबमा हुने यूएस ओपन तथा यूएसजीएका अन्य राष्ट्रिय च्याम्पियनसिपहरू समेटिएका छन्।
टी–मोबाइलले स्थापना गर्ने उन्नत ५जी नेटवर्क कनेक्टिभिटीले प्रतियोगिताका अधिकारीहरूलाई छिटो निर्णय लिन आवश्यक उपकरण र सञ्चार सुविधा उपलब्ध गराउने बताइएको छ।
अधिकारीहरूले मैदानमा रहँदा विशेष रूपमा अनुकूलित ५जी नेटवर्क स्लाइस प्रयोग गर्न सक्नेछन्। यसमार्फत उनीहरूले भिडियो फुटेज हेर्न र अन्य निर्णायकहरूसँग वास्तविक समयमा सञ्चार गर्न सक्नेछन्, जसले मैदानको जुनसुकै स्थानबाट पनि ढिलाइ वा नेटवर्क नपुग्ने समस्या बिना निर्णय दिन सहयोग गर्ने कम्पनीको भनाइ छ।
अर्को अनुकूलित नेटवर्क स्लाइस टिकट स्क्यानिङ र केही बिक्री केन्द्रका टर्मिनल सञ्चालनका लागि प्रयोग गरिनेछ। यूएसजीएको कन्टेन्ट टोलीले छिटो सामग्री वितरणका लागि टी–मोबाइलको फोटो पत्रकारिता नेटवर्क स्लाइसिङ क्षमता प्रयोग गर्नेछ।
सदस्यहरूका लागि पनि केही सुविधा राखिएका छन्। टी–मोबाइलका सदस्यहरूले मुख्य टिकट कार्यालयमा आफ्नो म्याजेन्टा पास देखाएर यूएस वुमेन्स ओपनका लागि दुईवटा निःशुल्क ग्यालेरी टिकट प्राप्त गर्न सक्नेछन्। दुवै ओपन प्रतियोगितास्थलमा सदस्य र उनीहरूका पाहुनाले टी–मोबाइल रेन्जस्थित मेम्बर बेनिफिट्स हबमा लन कुर्सी, खाना तथा पेय पदार्थ भौचर र आरक्षित ग्रान्डस्ट्यान्ड सिटका लागि रिस्टब्यान्ड लगायतका सुविधा पाउनेछन्।
टेलिकम्स डटकमका अनुसार टी–मोबाइलकी स्पोन्सरसिप उपाध्यक्ष एमी अज्जीले यूएसजीएले एक शताब्दीभन्दा बढी समयदेखि गल्फ खेललाई आकार दिएको उल्लेख गर्दै यो साझेदारी खेल क्षेत्रमा कम्पनीको बढ्दो उपस्थितिको महत्वपूर्ण विस्तार भएको बताइन्। उनका अनुसार टी–मोबाइलले अमेरिकाको उत्कृष्ट नेटवर्कमा आधारित नयाँ रुल्स रिभ्यु प्रणालीसहित प्रतियोगिता सञ्चालनमा नयाँ प्रविधि भित्र्याउनेछ र दर्शकहरूलाई थप जोडिएको तथा आकर्षक अनुभव प्रदान गर्नेछ।
यूएसजीएका प्रमुख व्यावसायिक अधिकृत जोन पोडानीले खेलाडी, निर्णायक र दर्शक सबैले उत्कृष्ट स्तरको अनुभव पाउनुपर्छ भन्ने विश्वास टी–मोबाइलसँग साझा रहेको बताए। उनका अनुसार यो साझेदारीले मैदानमै वास्तविक समयको रुल्स रिभ्युदेखि सदस्य तथा दर्शकका लागि जोडिएका अनुभवसम्म प्रदान गर्न आवश्यक उपकरण उपलब्ध गराउनेछ।
गत महिना प्रतिस्पर्धी अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोनले न्यू जर्सी डेभिल्स र नेशनल हकी लिग (एनएचएल) सँग मिलेर उदीयमान प्रविधिहरूको परीक्षणका लागि कृत्रिम एरेना वातावरण स्थापना गरेको थियो।
एनएचएल इनोभेसन ल्याब नाम दिइएको उक्त परियोजनामा भेराइजनले निजी ५जी नेटवर्क र सुरक्षित क्लाउड इन्टरकनेक्ट समाधान उपलब्ध गराएको थियो। कम्पनीका अनुसार उच्च ब्यान्डविथयुक्त समर्पित डेटा मार्गमार्फत छिटो गति, कम विलम्बता र थप सुरक्षा भएका नयाँ कार्यप्रवाह विकास गर्न सहयोग पुगेको छ।
प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार