साइबर सुरक्षा मजबुत बनाउन अमेरिकाका आठ प्रमुख दूरसञ्चार कम्पनीहरूले गरे संयुक्त पहल

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
साइबर सुरक्षा मजबुत बनाउन अमेरिकाका आठ प्रमुख दूरसञ्चार कम्पनीहरूले गरे संयुक्त पहल

काठमाडौं ।

अमेरिकाका आठ प्रमुख दूरसञ्चार कम्पनीहरूले साइबर सुरक्षा मजबुत बनाउन संयुक्त पहल सुरु गरेका छन्।

एटीएण्डटी, चार्टर, कमकास्ट, कक्स, लुमेन, टी-मोबाइल, भेरिजोन र जायोले मिलेर कम्युनिकेशन्स साइबरसेक्युरिटी इन्फर्मेशन एण्ड एनालाइसिस सेन्टर (सीटूआईएसएसी) स्थापना गर्ने सहमति गरेका हुन्।

जुन महिनादेखि सञ्चालनमा आउने यो केन्द्रले बढ्दो जटिल साइबर खतरासँग सामूहिक रूपमा जुध्ने लक्ष्य राखेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढेसँगै साइबर आक्रमणहरू अझ परिष्कृत र जटिल बन्दै गएको कम्पनीहरूले बताएका छन्। कुनै एक कम्पनीसँग सबै खतराको पूर्ण जानकारी वा सबै जोखिम समाधान गर्ने क्षमता नरहेको निष्कर्षसहित यो पहल अघि बढाइएको हो।

हालका वर्षहरूमा अमेरिकी दूरसञ्चार कम्पनीहरू साइबर आक्रमणको निशानामा परेका छन्। मार्चमा भेरिजोनका ६० लाख ग्राहकको विवरण यसको साझेदार रसल सेलुलरमा साइबर आक्रमण भएपछि चोरी भएको थियो।

सन् २०२४ मा एटीएण्डटीले आफ्ना झण्डै सबै मोबाइल ग्राहकको डाटा अनधिकृत रूपमा पहुँच गरिएको खुलासा गरेको थियो। त्यस्तै टी-मोबइल यूएसले पनि एक ह्याकरले एपीआईको कमजोरी प्रयोग गरेर ३ करोड ७० लाख ग्राहकको जानकारी चोरी गरेको जनाएको थियो।

टेलिकम्स डटकमका अनुसार सीटूआईएसएसी गठनको प्रमुख कारणमध्ये सल्ट टाइफून नामक चिनियाँ ह्याकिङ समूहलाई मानिएको छ। उक्त समूहले अमेरिकी आठ दूरसञ्चार कम्पनीको नेटवर्कमा प्रवेश गर्न सफल भएपछि अमेरिकी सरकारबाट कडा प्रतिक्रिया आएको थियो।

यस घटनापछि फाइभ आइज गुप्तचर गठबन्धनले दूरसञ्चार पूर्वाधारमा हुने साइबर आक्रमण रोक्न थप सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो।

नयाँ केन्द्रले प्राविधिक विज्ञहरूबीच सूचना आदानप्रदान र रक्षा रणनीति समन्वय गर्ने हबको रूपमा काम गर्नेछ। यसले सदस्य कम्पनीहरूको साइबर सुरक्षा र अमेरिकी महत्वपूर्ण सञ्चार पूर्वाधारको स्थायित्व मजबुत बनाउने लक्ष्य राखेको छ। आठ संस्थापक कम्पनीका प्रमुख सूचना सुरक्षा अधिकारीहरू मिलेर प्रारम्भिक सञ्चालक समिति गठन गर्नेछन्।

अमेरिकी सरकारी निकाय साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए) की पूर्व प्रमुख रणनीति अधिकृत तथा एफबीआईकी पूर्व सहायक निर्देशक भ्यालेरी मूनलाई कार्यकारी निर्देशक नियुक्त गरिएको छ। उनले सीटूआईएसएसीले सदस्य संस्थाहरूको सुरक्षा सुदृढ गर्नुका साथै राष्ट्रिय सञ्चार पूर्वाधारको स्थायित्वमा सहयोग पुर्‍याउने बताएकी छन्।

सीटूआईएसएसी बोर्डका पहिलो अध्यक्ष रिच बाइचले साइबर खतरा पहिलेभन्दा बढी जटिल र निरन्तर बन्दै गएको बताएका छन्।

नोकियाका अनुसार सन् २०२४ मा विश्वभरका ६३ प्रतिशत दूरसञ्चार कम्पनीहरू एडभान्स्ड पर्सिस्टेन्ट थ्रेट्स (एपीटी) को निशानामा परेका थिए।

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार