ब्रिटिश टेलिकमले सार्वजनिक गर्यो क्राउडस्ट्राइकका एआई आधारित सुरक्षा टूल

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
ब्रिटिश टेलिकमले सार्वजनिक गर्यो क्राउडस्ट्राइकका एआई आधारित सुरक्षा टूल
तस्बिर: टेलिकम्स डटकम

काठमाडौं ।

ब्रिटिश टेलिकमको बीटी बिजनेसले बेलायतका साना तथा मझौला व्यवसायका लागि क्राउडस्ट्राइकका एआई आधारित समाधान प्रयोग गर्दै नयाँ साइबर सुरक्षा उपकरण सार्वजनिक गरेको छ।

ब्रिटिश टेलिकमका अनुसार साइबर अपराधको खतरा तीव्र रूपमा बढिरहेको बेला नयाँ सुरक्षा उपकरण ल्याइएको हो। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार दुर्भावनापूर्ण स्क्यानिङ गतिविधिमा वर्षेनी ३०० प्रतिशत वृद्धि भएको छ भने अहिले जडित उपकरणहरूलाई दैनिक औसत ४ हजार पटक परीक्षण गरिन्छ।

एआई उपकरणहरूले साइबर खतराको गति र दायरा दुवै बढाइरहेको BT ले जनाएको छ। कम्पनीका अनुसार उसले आफ्ना नेटवर्कमा दैनिक ४० लाख साइबर आक्रमण रोकिरहेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

ब्रिटिश टेलिकमले साना तथा मझौला व्यवसाय साइबर आक्रमणको मुख्य निशानामा रहेको बताएको छ। कम्पनीको अध्ययनअनुसार आधा साना तथा मझौला व्यवसायले साइबर खतरालाई प्रमुख प्राविधिक चिन्ताका रूपमा लिएका छन्। तर करिब एक तिहाइ व्यवसायमा आधारभूत साइबर सुरक्षा समेत नरहेको उल्लेख गरिएको छ।

सरकारी तथ्यांक उद्धृत गर्दै बीटीले बेलायतमा एक साइबर उल्लंघनबाट व्यवसायलाई औसत ३ हजार ५५० पाउन्ड खर्च हुने जनाएको छ।

क्राउडस्ट्राइकद्वारा सञ्चालित नयाँ एआई साइबर उपकरणमार्फत साना तथा मझौला व्यवसाय ले ठूला कम्पनीहरूमा मात्र उपलब्ध हुने स्तरको सुरक्षा प्राप्त गर्ने ब्रिटिश टेलिकमको दावी छ।

नयाँ उपकरणमा साइबर हेल्थ चेक समावेश छ, जसले स्वमूल्यांकन गरी साइबर स्कोर र कार्ययोजना तयार गर्छ। साइबर गाइड मार्फत फोन, अनलाइन च्याट तथा स्टोरमार्फत विज्ञ सल्लाह उपलब्ध हुनेछ।

त्यस्तै एआई साइबर असिस्टेन्टले ब्रिटिश टेलिकमका सुरक्षा विज्ञहरूले तयार पारेका सुझाव र जानकारीका आधारमा साइबर सुरक्षासम्बन्धी प्रश्नको उत्तर दिनेछ। कम्पनीले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको मार्गनिर्देशनअनुसार साइबर सपोर्ट हब पनि सुरु गरेको छ, जसमा जानकारीमूलक सामग्री र ‘हाउ-टु’ गाइडहरू समावेश छन्।

बीटी बिजनेसका प्रमुख कार्यकारी अधिकृत जोन जेम्सले प्रविधि तीव्र गतिमा विकसित भइरहेका कारण साइबर आक्रमण झन् जटिल बन्दै गएको बताएका छन्।

उनले ठूला कम्पनीहरूले सामना गर्ने खालका जटिल साइबर खतराबाट अब साना व्यवसाय पनि प्रभावित भइरहेको बताए। तर साना तथा मझौला व्यवसायसँग त्यसअनुसारको स्रोत, विशेषज्ञता वा बजेट नरहेको उनको भनाइ छ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रका राष्ट्रिय प्रतिरोध निर्देशक जोनाथन एलिसनले बेलायती संस्थाहरूमाथि साइबर खतरा बढ्दै गएको र साना व्यवसाय पनि यसबाट सुरक्षित नरहेको बताएका छन्।

यसैबीच विश्वभरका दूरसञ्चार कम्पनीहरूले साइबर सुरक्षा मजबुत बनाउने पहललाई तीव्र बनाएका छन्। हालै एटीएण्डटी, चार्टर, कमकास्ट, कक्स,लुमेन,टी-मोबाइल, भेरिजोन र जायोसहित आठ अमेरिकी दूरसञ्चार कम्पनीहरूले संयुक्त साइबर सुरक्षा केन्द्र सीटू आईएसएसी स्थापना गरेका छन्।

त्यस्तै अरेञ्ज साइबरडिफेन्सले वर्ल्ड इकोनोमिक फोरम अन्तर्गतको साइबरक्राइम एटलससँग मिलेर कस्मस नामक खुला स्रोत पहल सुरु गरेको छ। यसको उद्देश्य विश्वव्यापी साइबर अपराधको नक्साङ्कन तथा अवरोध सिर्जना गर्नु रहेको बताइएको छ।

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...