आवेदन दिने अवधि सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य बन्ने योग्यतानै परिवर्तन

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
आवेदन दिने अवधि सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य बन्ने योग्यतानै परिवर्तन

काठमाडौं ।

सरकारले सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी दिग्दर्शन,२०८३ तथा सूचना तथा सञ्चार मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको रिक्त पदमा आवेदन माग गरेको समयावधि सकिएपछि उक्त दिग्दर्शन, २०८३ जारी गरेको हो। जसले गर्दा प्राधिकरणका अध्यक्ष तथा सदस्य पदहरुमा आवेदन दिने आवेदनहरु स्वतः अयोग्य हुने देखिएको छ।

मन्त्रालयले आवेदनको अवधि सकिएपछि दिग्दर्शन जारी गर्नाले कुनै अमुक व्यक्तिलाई त ल्याउन खोजिएको त होईन भन्ने आशंका उब्जिएको आवेदन दिनेहरुले गरेको छ।

यसअघि अध्यक्ष र सदस्य पदका लागि सार्वजनिकरुपमा निवेदन माग गर्दा दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदमा दरखास्त दिनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (१) बमोजिमको अध्यक्षको हकमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक/प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने आवश्यक न्यूनतम योग्यता उल्लेख गरिएको थियो।

तर मन्त्रालयले हालै उक्त योग्यतालाई २०८३ जेठ ५ गते जारी गरेको र ६ गते अपरान्ह मात्र वेबसाइटमार्फत सार्वजनिक गरिएको दिग्दर्शनमार्फत परिवर्तन गरेको छ जसले गर्दा अधिकांश आवेदकहरु अयोग्य हुनसक्ने देखिएको छ।

कानूनका एक जानकारले ऐन र नियमावलीमा उल्लेख भएको विषयलाई दिग्दर्शनले काट्न नसक्ने हुँदा त्यसले कुनै फरक नपर्ने बताए।

“ऐनमानै उल्लेख छ भने त्यसले अरु कुनै फरक पार्दैन । तर आवेदन दिने अवधि सकिएपछि किन योग्यता परिवर्तन गरियो भन्ने नैतिक प्रश्न आउँछ,” उनले टेक्नोलोजीखबरसँग भने।

यसका साथै टेक्नोलोजीखबरले कुरा गरेका केहि आवेदकहरुले पनि यसले आवेदकहरुको संख्या खुम्च्याउन खोजेको आशंका गरेका छन्।

नौ पृष्ठ र १७ बुँदा रहेको दिग्दर्शनमा सूचना तथा सञ्चार मन्त्रालयसम्बद्ध सबै सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयनका लागि आवश्यक योग्यता र प्रक्रिया समावेश छ।

सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरु नियुक्ति वा मनोनयन गर्ने वा तोक्ने सम्बन्धमा सम्बन्धित ऐन तथा नियममा भएका व्यवस्था सोही बमोजिम नै हुने गरी सो प्रक्रियालाई थप स्पष्ट, वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन वाञ्छनीय भएकोले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले दिग्दर्शन जारी गरिएको दिग्दर्शनमा उल्लेख छ।

दिग्दर्शनमा दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (२) बमोजिम नियुक्ति हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सदस्यको योग्यता सो ऐनमा उल्लेख गरिएको योग्यताका अतिरिक्त तल उल्लेख गरिए बमोजिम हुनुपर्ने उल्लेख गरिएको छ:

  • नेपाली नागरिक हुनुपर्ने
  • तीस वर्ष पूरा भई पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने
  • नियुक्ति हुनु भन्दा अगाडि कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान आदिमा कार्यरत कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, एघारौं तह वा सो भन्दा माथिल्लो पदमा र कुनै संघ, संस्था वा कम्पनीमा कार्यरत व्यक्तिको हकमा उच्च व्यवस्थापकीय तहमा दूरसञ्चार नियमावली, २०५४ को नियम ३ बमोजिमको अवधि काम गरी अनुभव प्राप्त गरेको हुनुपर्ने
  • प्रचलित नेपाल कानून बमोजिम नियुक्त हुन अयोग्य नठहरिएको हुनुपर्ने

दिग्दर्शनले भनेअनुसार दूरसञ्चार नियमावली २०५३ को  नियम ३ मा अध्यक्ष र सदस्यको लागि चाहिने योग्यता र अनुभवको बारेमा बोलेको छ।

जसमा भनिएको छ-

३. अध्यक्ष र सदस्यको योग्यता: प्राधिकरणको अध्यक्ष र सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा (१) मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तहको उपाधि हासिल गरि सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको हकमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ।

३क. कार्यवाहक अध्यक्ष: नेपाल सरकारले अध्यक्षको पद कुनै कारणले रिक्त भएमा, अध्यक्षको पदपूर्ति नभएसम्मका लागि सदस्य वा प्राधिकरणको कुनै वरिष्ठ निर्देशकलाई बढीमा छ महिनासम्मका लागि कार्यवाहक अध्यक्ष भई कामकाज गर्न तोक्न सक्नेछ।

यसबाहेक मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका अध्यक्ष र सदस्य, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक र मनोनीत हुने सदस्य विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा सदस्यहरु, चलचित्र जाँच समिति तथा चलचित्र विकास वोर्डका अध्यक्ष तथा सदस्य, राष्ट्रिय समाचार समितिको महाप्रबन्धक, बोर्डका अध्यक्ष र सञ्चालकहरु तथा गोरखापत्र संस्थानको सञ्चालक समितिका महाप्रबन्धक, अध्यक्ष र सञ्चालकहरुको लागि योग्यताको बारेमा उल्लेख गरिएको छ।

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार