एक लाख ७५ हजार लाईसेन्स कार्ड छापिएर आएपछि यातायात व्यवस्था कार्यालय भक्तपुरमा सेवाग्राहीको लामो लाइन

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
एक लाख ७५ हजार लाईसेन्स कार्ड छापिएर आएपछि यातायात व्यवस्था कार्यालय भक्तपुरमा सेवाग्राहीको लामो लाइन
यातायात व्यवस्था कार्यालय राधेराधेमा लाइसेन्स लिँदै गरेका सेवाग्राहीहरुको भिड। तस्बिरः अनुजराज/टेक्नोलोजीखबर डटकम।

काठमाडौं ।

भक्तपुर स्थित राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालयमा बिहान ८ बजेदेखिनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको सेवाग्राहीहरुको भिड लागेको छ।

चार बर्षदेखि रोकिएका लाइसेन्स कार्डहरु छापिएर आएपछि सो कार्ड लिन बिहानैदेखि सेवाग्राहीको कार्यालयमा भिड लागेको हो ।

चर्को घाममा पनि लाइसेन्स कार्ड लिनका लागि करिब ३०० मिटरसम्म लामो लाइनमा सेवाग्राहीहरु बसेको देखिन्छ।

कार्यालयमा एक लाख ७५ हजार थान लाईसेन्स कार्ड छापिएर आएपछि मंगलबारदेखि बितरण शुरू गरिएको कार्यालयका सुचना अधिकारी जिवन बस्नेतले टेक्नोलोजीखबरलाई जानकारी दिए। बस्नेतका अनुसार, कार्यालयमा सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ को केही सवारी अनुमति पत्र (लाईसेन्स) कार्ड आइपुगेको छ।

“चार वर्षदेखि रोकिएका कार्डहरु एकैपटक बोरामा हालेर पठाएका छन्। हामीसबै खटेर करिब ४ दिन आन्तरिकरुपमा त्यसलाई सर्टिङ्ग गरेर मिलाएका छौं,” सुचना अधिकारी बस्नेतले भने, “लाइसेन्स बितरणमा सेवाग्राहीहरुले पनि सहज गरिदिनुपर्छ। एकैदिनमा सबैजना आउनुभयो भने सेवा दिन सकिँदैन्। त्यसैले अनुकुल मिलाएर आउन आग्रह गर्दछौं।”

बस्नेतकाअनुसार, कम्प्युटरमा एप्लिकेशन आइडी हाल्ने बितिकै कुन पोकामा कार्ड राखिएको छ भन्ने थाहा हुने र सोही पोकाबाट अनुमति पत्र झिकेर बितरण गर्न थालिएको छ।

उनले हिजोदेखि सार्वजनिक सूचनामार्फत जानकारी दिएलगत्तै लाइसेन्स लिनेको भिड भएको बताए।

“हिजो मात्रै हामीले कार्यालयको जनशक्तिले भ्याएअनुसार १ हजार लाइसेन्स बितरण गरेका छौं। आजपनि त्यहि हाराहारीमा हुन्छ होला,” उनले भने, “हामी यसलाई भोलीदेखि थप व्यवस्थित गर्नुपर्ने योजनामा छौं। किनकी कार्यालयका अन्य नियमित कामहरु पनि साथसाथै गर्नुपर्ने हुन्छ।

उनले लाइसेन्सनै छापिएर नआएका सेवाग्राहीहरु पनि लाइनमा बसेपछि थप भिडभाड भएको गुनासो गरे। सूचनामा भएको आफ्नो लाइसेन्स बिबरण हेरेर मात्र आउन सेवाग्राहीहरुसँग बस्नेतले अनुरोध गरे।

सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ को केही सवारी अनुमति पत्र (लाईसेन्स) कार्ड आएको जानकारी पाएसंगै मंगलबार बिहान ८ बजेदेखि नै कार्यालयमा सेवाग्राहीको भीड लागेको हो।

लाइसेन्स लिन उक्त कार्यालयमा आएका एक सेवाग्राहीले नाम उल्लेख नगरी आफ्नो लाइसेन्स अर्को महिनामा म्याद सकिने अवस्था रहेको गुनासो गरे। “मेरो लाइसेन्सको म्याद अर्को महिना सकिन्छ। अहिले लगेन भने फेरी नयाँ लिन समस्या हुन्छ होला, त्यसैकारण लिन आएको हुँ” उनले भने।

त्यसैगरी जगातेबाट आएका अर्का एक युवाले लाइसेन्स कार्ड छापिएर आएको सुनेपछि लिन आएको बताए। “मेरो लाइसेन्स आए/नआएको थाहा छैन्। कसरी हेर्ने हो त्योपनि जानकारी छैन्। अहिले सबैको आयो भन्ने सुनेर बुझ्न आएको हुँ,” उनले भने।

कार्ड छापिएर नआउँदा लिखित तथा प्रयोगात्मक परीक्षा उतीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका सेवाग्राही चार बर्षदेखि पैसा तिरको रसिदका भरमा सवारी साधान सञ्चालन गर्दै आएका थिए । अझै करिव एक बर्षयताको कार्ड छापिएर आउँन बाँकी रहेको कार्यालयले जनाएको छ।

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार