
काठमाडौं ।
अमेजनर एन्थ्रोपिकले आफ्नो साझेदारीलाई थप बलियो बनाएका छन्, जसमा दुवै पक्षबाट ठूलो आर्थिक प्रतिबद्धता गरिएको छ।
अमेजनले हालै एन्थ्रोपिकमा ५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ, साथै निश्चित लक्ष्यहरू पूरा भएमा थप २० अर्ब डलरसम्म लगानी गर्ने योजना पनि राखेको छ। यसअघि अमेजनले २०२३ मा ४ अर्ब डलर र २०२४ मा थप ४ अर्ब डलर लगानी गरिसकेको थियो।
इन्ग्याजेटका अनुसार एन्थ्रोपिक तर्फबाट भने कम्पनीले आफ्ना एआई मोडेलका लागि अमेजनको कस्टम ट्रेनियम चिपको प्रयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। नयाँ सम्झौताअनुसार एन्थ्रोपिकले आगामी एक दशकमा अमेजन वेब सर्भिसेजका प्रविधिमा १ सय अर्ब डलरभन्दा बढी खर्च गर्नेछ।
साथै यसले हालका र भविष्यका चिप क्षमतामध्ये ५ गिगावाटसम्म सुरक्षित गर्नेछ जसले यसको एआई मोडेलको प्रशिक्षण र सञ्चालनमा सहयोग पुर्याउनेछ।
यस साझेदारीअन्तर्गत एन्थ्रोपिकको क्लोड प्लेटफर्मलाई एडब्लूएस पोर्टलभित्रै उपलब्ध गराइनेछ, जसले प्रयोगकर्तालाई थप लगइन बिना नै सेवा प्रयोग गर्न सजिलो बनाउनेछ।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार