वीरगन्ज नाका हुँदै नौ महिनामा ३४ अर्बमाथिको इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
वीरगन्ज नाका हुँदै नौ महिनामा ३४ अर्बमाथिको इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात
फाइल तस्बिर

काठमाडौं ।

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो।

गत आवको नौ महिनामा भने छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको बताए।

यो अवधिमा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ भने गत आवको सोही अवधिमा भने ३० अर्ब १४ करोड मूल्यका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो। कार्यालयले चालु आवको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो।

चालु आवको नौ महिनामा  ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। गत आवको सोही अवधिमा भने ५५ अर्ब नौ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो।

चालु आवको नौ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको  भटमासको कच्चा तेल आयात भएको छ। जबकि गत आवको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको तथ्याङ्क छ।

अवधिमा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। जबकि गत आवको नौ महिनामा भने  ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो।-रासस

 

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार