अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो सम्भावित आईपीओका लागि साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्ड(पीआईएफ) सँग करिब ५ अर्ब डलर लगानीबारे छलफल गरेको स्रोतहरूले बताएका छन्।
यो लगानी पीआईएफले स्पेसएक्समा पहिलेबाट रहेको झन्डै १ प्रतिशतभन्दा कम हिस्सेदारीको मूल्य घट्न नदिन पनि सहयोगी हुन सक्ने स्रोतहरूको भनाइ छ।
रकेट निर्माता स्पेसएक्सले सेयर बजारमा प्रवेश गर्नु अघि नै ठूला “एंकर लगानीकर्ता”हरू तयार पार्ने प्रयास गरिरहेको अन्य स्रोतहरूले बताएका छन्।
कम्पनीले करिब ७५ अर्ब डलर उठाउने लक्ष्य राखेको छ, जुन सन् २०१९ को साउदी अराम्को र सन् २०१४ को अलिबाबा ग्रुपजस्ता ठूला आईपीओभन्दा पनि ठूलो हुने अपेक्षा गरिएको छ।
इन्ग्याजेटका अनुसार स्पेसएक्सले यति ठूलो आकारको सम्झौतामा लगानीकर्ताहरूको रुचि कति छ भनेर बुझ्ने प्रयास गरिरहेको छ। स्रोतहरूले गोपनीयताका कारण नाम नखुलाउने शर्तमा जानकारी दिएका हुन्। अन्तिम निर्णय भने अझै भएको छैन र सम्भावित लगानीमा परिवर्तन हुन सक्ने चेतावनी पनि दिइएको छ।
स्पेसएक्सले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने पीआईएफले पनि प्रतिक्रिया दिन मानेको छैन।
एंकर लगानीकर्ताहरू सामान्यतया त्यस्ता संस्थागत लगानीकर्ता हुन्छन्, जसले आईपीओ अघि नै निश्चित हिस्सा किन्ने प्रतिबद्धता जनाउँछन्। यसले बजारमा विश्वास बढाउने र सेयरको माग स्थिर बनाउन मद्दत गर्छ।
स्पेसएक्सले यस्ता ठूला लगानीकर्ताहरू आकर्षित गरिरहँदा, सेयरको केही हिस्सा धनी व्यक्तिगत लगानीकर्ताहरूलाई पनि जाने अपेक्षा गरिएको छ, जसलाई अन्डरराइटिङ बैंकहरूले सेवा दिनेछन्।
२०२५ नोभेम्बरमा यसको एआई कम्पनी ह्युमेन र एक्सएआईबीच साउदी अरेबियामा ५०० मेगावाट डाटा सेन्टर क्षमता विकास गर्ने सहकार्य घोषणा गरिएपछि पीआईएफले मस्कको व्यापारिक साम्राज्यसँग सम्बन्ध अझ बलियो बनाएको थियो। त्यसपछि एक्ससँग एक्सएआईको मर्जरअघि पीईएफले ह्युमेनमार्फत ३ अर्ब डलर लगानी गरेको थियो।
टेक्सासको स्टारबेसमा आधारित स्पेसएक्सले हालै अमेरिकी यूएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनमा गोप्य रूपमा आईपीओ सम्बन्धी कागजात दर्ता गरिसकेको छ र यसै वर्ष बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ।