आईएसएसतर्फ गइरहेको रुसी अन्तरिक्ष यानको एण्टेनामा समस्या, डक गर्न नसक्ने

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
आईएसएसतर्फ गइरहेको रुसी अन्तरिक्ष यानको एण्टेनामा समस्या, डक गर्न नसक्ने

काठमाडौं ।

रुसको अन्तरिक्ष यान प्रोग्रेस ९४ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ जाँदै गर्दा ठूलो प्राविधिक समस्या आएको छ, जसका कारण यसले स्वतः रूपमा डक गर्न नसक्ने भएको नासाले जनाएको छ।

प्रोग्रेस ९४ अन्तरिक्ष यानको एउटा एन्टेना खुल्न नसकेपछि यो समस्या देखिएको हो। उक्त एन्टेनाले अन्तरिक्ष यानलाई आईएसएससँग स्वचालित रूपमा जोडिन (डक गर्न) मद्दत गर्छ।

अब रूसी अन्तरिक्ष यात्रीले “ब्याकअप प्रणाली” प्रयोग गरेर पृथ्वीको कक्षामा रहँदै उक्त यानलाई हातैले (म्यानुअली) डक गराउनुपर्ने हुन सक्छ।

यो मानवविहीन (अनक्रुड) कार्गो यानले खाना, पानी, इन्धन, अक्सिजन, उपकरण, वैज्ञानिक सामग्री र औषधि सहित करिब २,५०० किलोग्राम सामग्री बोकेको छ।

रोयटर्सका अनुसार प्रोग्रेस ९४ (रुसमा प्रोग्रेस एमएस-३३ भनिने) आइतबार कजाख्स्तानको बाइकोनुर कस्मोड्रोमबाट सोयुज रकेटमार्फत प्रक्षेपण गरिएको थियो।

प्रक्षेपणपछि करिब ४० मिनेटमै एउटा एन्टेना सही रूपमा नखुलेको जानकारी आएको थियो। यसले आईएसएसको रूसी भागमा रहेको पोइस्क मोड्युलसँग जोडिन आवश्यक भूमिका खेल्छ।

समस्या समाधानको प्रयास जारी रहेको र एन्टेना नखुलेमा कोस्मोनट सेर्गेई कुड-स्वेर्कोभले ब्याकअप प्रणाली प्रयोग गरेर यानलाई म्यानुअल रूपमा डक गराउने रोस्कोस्मोसले जनाएको छ।

यद्यपि, अन्य सबै प्रणालीहरू सामान्य रूपमा सञ्चालन भइरहेको र डकिङ प्रक्रिया योजना अनुसार अगाडि बढ्ने नासाले बताएको छ।

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...