
काठमाडौं ।
मुख्यसचिव सुमनराज अर्यालले तथ्याङ्क प्राविधिक विषय मात्रै नभई सुशासनको अपरिहार्य तत्व भएको बताएका छन्।
तथ्याङ्क दिवस–२०८२ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज आयोजित कार्यक्रममा उनले तथ्याङ्कीय सुशासनलाई समग्र पक्षबाट हेरिनुपर्ने बताए। “तथ्याङ्कलाई प्राविधिक भाष्यका रुपमा मात्रै सीमित हुनु हुँदैन, तथ्याङ्कीय प्रणाली २१ औँ शताब्दी सुहाउँदो हुनुपर्छ । यति गर्न सकियो भने मात्रै देशले भोगेको र खोजेको विषय सम्बन्ध गर्न सक्छ”, मुख्यसचिव अर्यालले भने।
तथ्याङ्कलाई जति विश्वसनीय बनाउन सकियो त्यति नै त्यसले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले तथ्याङ्कले समग्र अर्थतन्त्रमा उकास्न सहयोग गर्ने बताए।
तथ्याङ्क ऐन जारी भएपछि यस क्षेत्रमा धेरै सम्भावनाको ढोका खोलेको जनाउँदै मुख्यसचिव अर्यालले अन्तर निकाय तथ्याङ्क कार्य समूहलाई सक्रिय बनाउन सक्दा सरकारलाई नै सहयोग पुग्ने बताए।
तथ्याङ्क दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिँदै उनले यसका लागि आफ्नो तर्फबाट सहयोग रहने विश्वास दिलाए।
कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले तथ्याङ्क दिवससम्बन्धी प्रस्तुति दिएका थिए। सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । रासस
प्रकाशित: १७ पुष २०८२, बिहीबार