
काठमाडौं ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित नुडल्स उद्योग एसियन थाई फुड्सको छाना अहिले सोलारका प्यानलले छोपिएको छ। उद्योगको ‘रुफ टप’ सोलार प्लानल जडान गरेर हेर्दै आकर्षक देखिन्छ।
सञ्चालक उद्योगी महेश जाजुका अनुसार अहिले दुई मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सोलार प्लान्टको काम धमाधम छ। एक महिनाभित्र उद्योगले दिनभरका लागि आफ्नै उत्पादनको ऊर्जा खपत गर्ने छ।
उद्योगी जाजुले सुक्खायाममा विद्युत् न्यून ‘भोल्टेज, घटबढ अनि गार्हस्थ फिडरको जरुरी पूर्ति गर्न औद्योगिक फिडरको लाइन काट्ने समस्या टार्न विकल्पमा सौर्य ऊर्जा अपनाएको बताए।
नेपालका उद्योगले सौर्य ऊर्जा जडान गर्दा नेपालको विद्युत् निर्यातमा समेत सहयोग पुग्ने उनको भनाइ छ। यहाँ सौर्य ऊर्जा जडान गरिरहेको प्राइम रिन्युएबल कम्पनीका बजार प्रवर्धक अमितकुमार दाहालका अनुसार एसियनसँगै सुनसरी मोरङ औद्योगिक कोरिडोरका चार वटा उद्योगमा सौर्य ऊर्जा जडान गर्ने काम भइरहेको छ।
जसमा अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलिप्याक, प्रिमियर वायर छन्। एसियन थाई फुड्समा अबका १५ दिनमा सौर्य ऊर्जा प्लान्ट स्थापना भइसक्छ। काम जारी रहेका बाँकी उद्योगमा ढेड महिना लाग्ने दाहालले जानकारी दिए।
त्यसपछि कोरिडोरका स्वस्तिक रोलिङ, स्वस्तिक पोलिमर, स्वस्तिक राइस एन्ड दाल, लेमिनार इन्डस्ट्रिज, पशुपति आइरन एन्ड स्टिललगायतका उद्योगमा काम बुकिङ भइसकेको छ। कम्पनीका व्यवस्थापक सञ्जयकुमार साहका अनुसार एक मेगावाट क्षमताको सौर्य ऊर्जा जडान गर्दा मूल्य अभिवृद्धि करबाहेक तीन करोड ५० लाखदेखि चार करोड रुपियाँसम्म पर्छ।
उद्योग व्यापार सङ्घका सचिव एवं विराटनगरमा जारी विराट ट्रेड एक्स्पोका संयोजकका अमित शारडाका अनुसार अहिले व्यापार मेलामा आकर्षक भनेको सौर्य ऊर्जा नै रहेको छ।
सौर्य ऊर्जामा ‘ब्लक बुकिङ’ को कुरा भइरहेको उनले जानकारी दिए। उनले अहिलेसम्म उद्योगीहरूले ६ मेगावाटको प्लान्ट लगाउने कुरा भइरहेको छ। हालसम्म १२ वटा उद्योगले रुफ टप सोलार लगाउने भएको हो।
उनले आफ्ना चार उद्योगमध्ये दुई वटा सौर्य ऊर्जा जडान गरिएको र बाँकी दुई उद्योगमा अब जडान गर्ने तयारी भइरहेको शारडाले बतना जानकारी दिए। माग बढी भएका कारण एक्स्पोमा अहिले उद्योगीका लागि सौर्य ऊर्जा नै प्राथमिकतामा रहेको उनको दावी छ।
विराटनगरमा चार वर्षअघि नै उद्योगी सुयस प्याकुरेल सञ्चालक रहेको एमएम प्लास्टिक उद्योगले सौर्य ऊर्जा खपत गरिरहेको छ। उद्योगका सञ्चालक प्याकुरेलले सौर्य ऊर्जा प्लान्ट स्थापना गरेपछि विद्युत् हुँदासमेत पहिले आफ्नै उत्पादन खपत हुने बताए। यसो गर्दा उद्योगको लागत कम पर्छ। सुक्खा मौसममा जलस्रोत घट्टा सौर्य ऊर्जा उपयोगी वैकल्पिक स्रोत बनेको छ।
अर्को चाँहि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक रुफ टप परियोजनालाई नेट मिटरिङ सुविधा उपलब्ध गराएको छ। उद्योगी प्याकुरेलका अनुसार उद्योगलाई चाहिनेभन्दा बढी विद्युत् राष्ट्रिय ग्रिडमा पठाउन सक्ने व्यवस्थासमेत छ।
उद्योगमा अहिलेसम्म सौर्य प्यानलबाट उत्पादन भएको विद्युत् भण्डारण नगरी ग्रिडमा लाने प्रणाली छ। यो ग्रिड कनेक्टेड प्रविधि मात्रै रहेको छ। सौर्य प्यानलबाट उत्पादन भएको विद्युत् ब्याट्रीमा भण्डारण गर्ने प्रविधिलाई आइसोलेटेड प्रणाली भनिन्छ।
उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चूडामणि भट्टराईले पछिल्लो समय सुक्खायामको विकल्प मात्रै नभई ग्रिड कनेक्टेड प्रणालीमा जाने मनस्थितिसमेत विकास भएको जानकारी दिए। उनले आवश्यक पर्ने आफैँलाई खपत गर्ने बढी भएमा ग्रिडमा पठाएर पैसा लिन सक्ने सुविधाले दोहोरो फाइदा लिन सकिने बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: १७ पुष २०८२, बिहीबार