
काठमाडौं ।
एनभिडियाले चिनियाँ प्रविधि कम्पनीहरूबाट आएको बलियो माग पूरा गर्न आफ्नो एच२०० कृत्रिम बुद्धिमत्ता (एआई) चिपको उत्पादन बढाउने तयारी थालेको छ। यसका लागि उसले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) सँग उत्पादन विस्तारबारे छलफल गरेको स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार चिनियाँ प्रविधि कम्पनीहरूले सन् २०२६ का लागि २० लाखभन्दा बढी एच२०० चिपको अर्डर दिएका छन्। तर हाल एनभिडियासँग करिब ७ लाख युनिट मात्र मौज्दात छ। एनभिडियाले टीएसएमसीबाट कति अतिरिक्त चिप अर्डर गर्ने भन्ने कुरा अझै स्पष्ट नभएको स्रोतहरूले जनाएका छन्।
एक अन्य स्रोतका अनुसार एनभिडियाले टीएसएमसीलाई थप चिप उत्पादन सुरु गर्न आग्रह गरिसकेको छ, र यसको काम सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सुरु हुने अपेक्षा गरिएको छ।
यसले विश्वव्यापी एआई चिप आपूर्तिमा थप दबाब पर्न सक्ने चिन्ता बढाएको छ। एनभिडियाले चीनको बलियो माग पूरा गर्ने र अन्य बजारमा सीमित आपूर्तिलाई सन्तुलनमा राख्ने चुनौती सामना गरिरहेको देखिन्छ।
रोयटर्सका अनुसार यसले एनभिडियाका लागि जोखिम पनि बढाउन सक्छ, किनकि बेइजिङले अहिलेसम्म एच२०० चिपको चीनतर्फ ढुवानीलाई औपचारिक रूपमा स्वीकृति दिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालसालै मात्र एच२०० चिप चीन निर्यात गर्न अनुमति दिएको हो।
एनभिडिया र टीएसएमसीबीच भएको छलफल तथा चिनियाँ मागको विवरण यसअघि सार्वजनिक भएको थिएन। मूल्यसमेत पहिलोपटक बाहिर आएको हो। स्रोतका अनुसार एनभिडियाले चीनका ग्राहकलाई उपलब्ध गराउने एच२०० चिपको संस्करण तय गरिसकेको छ र प्रति चिप करिब २७ हजार अमेरिकी डलर मूल्य निर्धारण गरेको छ।
प्रतिक्रिया दिँदै एनभिडियाले आफ्नो आपूर्ति शृङ्खला निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ।
“चीनका स्वीकृत ग्राहकहरूलाई लाइसेन्स प्राप्त बिक्रीले संयुक्त राज्य अमेरिकाका ग्राहकलाई आपूर्ति गर्ने हाम्रो क्षमतामा कुनै असर पार्दैन,” कम्पनीका एक प्रवक्ताले भने।
उनले थपे, “चीन तीव्र रूपमा बढ्दै गएका स्थानीय चिप आपूर्तिकर्तासहितको अत्यन्त प्रतिस्पर्धी बजार हो। सबै अमेरिकी निर्यात रोक्नु राष्ट्रिय र आर्थिक सुरक्षाका लागि घातक हुने र विदेशी प्रतिस्पर्धालाई मात्र फाइदा पुग्ने अवस्था सिर्जना गर्छ।”
टीएसएमसीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले पनि रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। यस समाचारका लागि रोयटर्सले पाँच जना व्यक्तिसँग कुरा गरेको थियो, जसले छलफल गोप्य भएकाले नाम नबताउन आग्रह गरेका छन्।
यदि अर्डर कार्यान्वयन भयो भने, यो एनभिडियाका लागि एच२०० उत्पादनको ठूलो विस्तार हुनेछ। यस्तो अवस्थामा कम्पनीले आफ्ना नयाँ ब्ल्याकवेल तथा आगामी रुबिन चिप लाइनमा ध्यान केन्द्रित गरिरहेको समयमै उत्पादन विस्तार गर्नुपर्ने हुन्छ। एच२००, एनभिडियाको अघिल्लो पुस्ताको ‘हपर’ आर्किटेक्चरमा आधारित चिप हो, जसमा टीएसएमसीको ४ न्यानोमिटर उत्पादन प्रविधि प्रयोग गरिएको छ।
एनभिडियाले प्रारम्भिक अर्डरहरू आफ्नै मौज्दातबाट पूरा गर्ने योजना बनाएको छ। एच२०० चिपको पहिलो खेप फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नयाँ वर्ष (लुनार न्यू इयर) अघि नै आइपुग्ने अपेक्षा गरिएको यसअघि रोयटर्सले जनाएको थियो।
चिनियाँ प्रविधि दिग्गजहरूले माग बढाए
सन् २०२६ का लागि गरिएको २० लाखभन्दा बढी चिप अर्डरको ठूलो हिस्सा चिनियाँ प्रमुख इन्टरनेट कम्पनीहरूबाट आएको स्रोतहरूले बताएका छन्। ती कम्पनीहरूले हाल उपलब्ध चिपहरूको तुलनामा एच२०० लाई उल्लेखनीय स्तरको उन्नत प्रविधि भएको मानिरहेका छन्।
एनभिडियासँग हाल रहेको ७ लाख युनिट मौज्दातमध्ये करिब १ लाख युनिट जीएच२०० ‘ग्रेस हपर’ सुपरचिप हुन्, जसमा एनभिडियाको ग्रेस सीपीयू र हपर जीपीयू आर्किटेक्चर संयोजन गरिएको छ। बाँकी मौज्दात भने छुट्टै एच२०० चिपहरू रहेको एक स्रोतले जनाएको छ।
प्रकाशित: १७ पुष २०८२, बिहीबार