२० करोड हाराहारीको क्रिप्टोकरेन्सीको कारोबार गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | ११ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २० करोड रुपैयाँ हाराहारीको क्रिप्टोकरेन्सी कारोबार गरेको कसूरमा एक जनालाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा बारा जिल्लाको कलैया नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ रहेका छन्।

परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार हिजो मंसिर १० गते साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-११ भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरिरहेको भन्ने सूचना प्राप्त भएपछि परिसरबाट खटिएको टोलीले सेफलाई पक्राऊ गरेको हो।

पक्राऊ परेका सेफको साथबाट क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको २ थान मोबाइल बरामद भएको थियो। मोबाइल नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएकाले उनीमाथि अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...