
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एटीएममार्फत हुने कारोबारको सीमा घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारमा नयाँ सीमा तोकेको हो।
तोकिएको नयाँ व्यवस्था अनुसार अबदेखि डेबिट कार्डबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ र एक दिनमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइनेछ। यसअघि एकपटकमा २५ हजार रुपैयाँ र एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यवस्था थियो।
राष्ट्र बैंक महिनामा कारोबार हुने सीमा पनि घटाइएको छ। नयाँ व्यवस्थाअनुसार अधिकतम ३ लाख रुपैयाँसम्म मात्र झिक्न पाइनेछ। अघिल्लो सीमा ४ लाख रुपैयाँ थियो।
यसैगरी, प्रिपेड कार्डका हकमा राष्ट्र बैंकले प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ।
क्रेडिट कार्डको हकमा भने स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरिएको छ।
बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरूको प्रिपेड कार्डमार्फत भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँसम्म रकम झिक्न सकिने व्यवस्था गरिएको छ।
प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार