Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रदान गर्न थालिएको छ। राष्ट्रिय परिचयपत्र र सीमा पास लिने सेवाग्राही बढी हुनु र इन्टरनेटले बेला बेला काम नगर्ने भएको कारण कार्यालयबाट प्रदान गरिने सेवा बिहानैबाट रातिसम्म प्रदान गर्न थालिएको हो।
नाम्खा गाउँपालिका-५ को यारीगाउँकी तन्जिन लामाले ७ बजे जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिएको बताइन्। अघिल्लो दिन कार्यालयमा आए पनि इन्टरनेटले काम नगरेको कारण कर्मचारीले बिहानै आउन जानकारी गरे अनुसार बिहानै आएर आफ्नो काम गर्न भ्याएको उनले बताए।
वडाको तुम्कोटगाउँकी छिरिङपुनर तामाङले आइतबार बेलुका ७ बजे आफूले सीमा पास लिएको बताइन्। उनी आइतबारै गाउँबाट सिमकोट आइपुगेर सीमा पास लिन सफल भएकी हुन्। प्रविधिको साथ लिएर काम छिटोछरितो गर्ने व्यवस्था गरेकोमा उनीहरू दुवै जनाले कार्यालयलाई धन्यवादसमेत दिए।
बैङ्कमा खाता सञ्चालन गर्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण हुनुपर्ने जनाएपछि जिल्लाभरबाट परिचयपत्र बनाउने सङ्ख्या बढ्दै गएको हो। यो समयमा विशेष गरी सामाजिक सुरक्षाका सेवाग्राहीले बढी सेवा लिने गरेका छन्।
सेवाग्राहीको चाप हेरेर नै बिहानैबाट बेलुकासम्म काम गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए। इन्टरनेट जतिखेर पनि जाने भएको कारण बिहान र बेलुका पनि काम गर्ने व्यवस्था गरिएको उनको भनाइ छ। राष्ट्रिय परिचयपत्र, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र सीमा पास लिन हाल कार्यालयमा दैनिक एक सय जनासम्म सेवाग्राही आउने गरेको उनले बताए।
सेवाग्राहीको चाप भएको समयमा कहिले बत्ती जाने र कहिले इन्टरनेट जाने गरेपछि समस्या हुने गरेको छ। यसरी बिहानबेलुकाको समयमा काम गर्ने गरी कार्यालय सञ्चालन गर्दा दैनिक रूपमा प्रदान गरिने सेवा प्रदान गर्न सहज भएको उनले बताए।
राष्ट्रिय परिचयपत्र लिने आउनेले पनि आफ्नो विवरण कम्प्युटरमा प्रविष्ट गर्नुपर्ने भएकाले भिडभाड बढी हुने गरेको छ। गृह मन्त्रालयले गाउँपालिकास्तरमा काम गर्ने गरी दुई वटा टोली खटाएको छ। उक्त टोलीले पनि गाउँपालिकामा पुगेर काम गरिरहेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार