
काठमाडौं ।
एप्पलले धेरै वर्षपछि तेस्रो नयाँ आईप्याड एयर अनावरण गरेको छ। २०२६ भेरियन्टले एप्पल एम४ चिप, अतिरिक्त र्याम प्रस्तुत गरेको छ भने एप्पलबाट एन१ र सी१एक्स वायरलेस चिप्स फिचर गर्ने पहिलो आईप्याड बनेको छ।
कुपर्टिनोले गत वर्षको एम३ चिप भएको आईप्याड एयरको संक्षिप्त उल्लेख गरेको छ। तर यो नयाँ मोडेल एम१–संचालित एयर्स (२०२२ बाट) र भेनिला आईप्याडका प्रयोगकर्ताहरूलाई अपग्रेड गर्न लोभ्याउने उद्देश्यले प्रस्तुत गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एम४ चिप सहितको नयाँ आईप्याड एयर (२०२६) २०२५ को एम३ संस्करण भन्दा ३० प्रतिशत छिटो भएको बताइएको छ। साथै २०२२ को एम१ मोडेलहरूको तुलनामा नयाँ संस्करणले २.३ गुणा धेरै गति प्रस्तुत गर्ने उल्लेख गरिएको छ।
२०२६ मोडेलको आईप्याड एयरमा ८ जीबीबाट बढाएर १२ जीबीको र्याम समावेश गरिएको छ। साथै यो १२० जीबी/सेकेन्ड ब्यान्डविथको साथ छिटो पनि छ।
नयाँ आईप्याड एयर भित्र रहेको एम४ चिपमा ८–कोर सीपीयू र ९–कोर जीपीयू छ। १६–कोर न्यूरल इन्जिनले एम१ एनपीयू को ३ गुणा पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्दछ। यो ठूलो, छिटो र्यामसँग मिलेर अन–डिभाइस एआई चलाउनमा ठूलो प्रभाव पार्नेछ। आईप्याड एयरमा फाइनल कट प्रो मा भिडियोहरूमा ब्याकग्राउण्ड हटाउने जस्ता कुराहरू समावेश छन्।
स्थानीय जडानको लागि ट्याब्लेटले प्रयोग गरेको एप्पलको एन१ चिपले वाई–फाई ७, ब्लुटुथ ६ र थ्रेड (स्मार्ट होम प्रोटोकल) लाई समर्थन गर्दछ। एयरको फाइभजी–सक्षम संस्करणमा एप्पलको सी१एक्स मोडेम समावेश गरिएको छ र एम३–संचालित एयरहरूमा प्रयोग हुने मोडेमहरू भन्दा ३० प्रतिशत कम पावर प्रयोग गर्दा ५० प्रतिशत उच्च वायरलेस गति प्रदान गर्दछ।
नयाँ मोडेलहरूले ६० हर्जमा चल्ने लिक्विड रेटिना डिस्प्लेहरू प्रयोग गरेको छ।
एप्पल आईप्याड एयर २०२६ ११ इन्च र १३ इन्च मोडेलहरूमा उपलब्ध हुनेछ भने ११ इन्चको मूल्य ६०० अमेरिकी डलर र १३ इन्चको मूल्य ८०० अमेरिकी डलर कायम गरिएको छ। साथै यो मूल्य बेस १२/१२८जीबी भेरियन्टको लागि भएको (स्टोरेज अझै पनि १२८जीबी बाट सुरु हुन्छ) बताइएको छ। साथै फाइभजी ट्याब्लेटको लागि २५० अमेरिकी डलर/ १७० यूरो/ २०० पाउन्ड स्टर्लिङ/१५,००० भारतीय रुपैयाँ मूल्यकायम गरिएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार