
काठमाडौं ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिजो मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रदान गरेको प्रचार समय हिजो राति १२ बजेदेखि समाप्त भएको छ।
मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट कसैको पक्ष वा विपक्षमा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न र भोट माग्न पाइने छैन।
मौन अवधि हिजो मध्यराति १२ बजेदेखि सुरु भएर मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म लागू हुने मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार, भाषण, भेला, छलफल, समीक्षा वा मत माग्ने गतिविधि गर्न पाइने छैन।
सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्न वा प्रचार सामग्री प्रकाशन–प्रसारण गर्न पनि रोक लगाइएको छ।
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने आर्थिक कारोबार वा गतिविधि गरिएको प्रमाणित भए उम्मेदवारी खारेज मात्र नभई दोषी व्यक्ति ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको आयोगले बताएको छ। आयोगले प्रभाव पार्ने गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ।
मौन अवधिको उद्देश्य मतदातालाई तनाव, दबाब र आश्वासनबाट मुक्त राखी विवेकपूर्ण ढङ्गले मतदान गर्ने वातावरण सिर्जना गर्नु हो।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ। मौन अवधिमा उम्मेदवार वा दलको पक्ष–विपक्षमा प्रभाव पार्ने समाचार वा सूचना प्रकाशन गर्न पाइने छैन।
आयोगका अनुसार देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण भएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएका छन्।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मौन अवधि महत्वपूर्ण कडीका रूपमा लिइएको आयोगको भनाइ छ।
मौन अवधि किन लागू गरिन्छ?
मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ।
शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ। मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ।
यदि मौन अवधिको व्यवस्था नराख्ने र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ।
के गर्न हुन्छ के गर्न हुँदैन?
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न नपाइने उनले थप बताए।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन्।
त्यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार