प्राधिकरण अध्यक्ष भण्डारीको प्रमाणपत्रका विरुद्ध अख्तियारको छानबिन शुरु, मन्त्रालयलाई पठायो पत्र

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
प्राधिकरण अध्यक्ष भण्डारीको प्रमाणपत्रका विरुद्ध अख्तियारको छानबिन शुरु, मन्त्रालयलाई पठायो पत्र

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको कार्यअनुभवको कागजात नक्कली भएको भन्दै परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ।

प्राधिकरणका अध्यक्ष भण्डारीले नियुक्तिको समयमा पेश गरेका कार्यअनुभवको कागजातहरु नक्कली भएको भन्दै त्यसमा छानबिन गर्न आयोगसमक्ष नागरिक समाजका तर्फबाट शुसासनका कार्यरत समूहले भन्डारीको कार्यानुभवको डकुमेन्टहरुसहित उजुरी गरेको थियो।

२०८२ बैशाख ३ गते दायर गरेको सी ०६०८६९ दर्ता नम्बरको उजुरी पत्रकाअनुसार उक्त संस्थामा नियुक्त भएका भण्डारीले नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ।

सोही उजुरीको आधारमा अख्तियारले केहि दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई थप छानबिन गर्न पत्र काटेको छ।

मन्त्रालय स्रोतबाट टेक्नोलोजीखबरले पाएको पत्रमा अख्तियारले प्राधिकरणका अध्यक्ष भण्डारीको शैक्षिक प्रमाणपत्रहरुको बारेमा जानकारी माग गरेको देखिन्छ।

पत्रमा भण्डारीले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुने समयमा बुझाएका सबै कागजातहरु माग गरिएको छ। जसमा भण्डारीले बुझाएका प्रमाणपत्रहरुको २/२ प्रति मन्त्रालयले प्रमाणित गरेर अख्तियारमा १५ दिन भित्र पठाउनका लागि भनिएको छ।

यससँगै अख्तियारले भण्डारीले पेश गरेका सबै प्रमाणपत्रहरुको बारेमा छानबिन शुरु गरेको देखिएको हो। यसका साथमा अब मन्त्रालयले भण्डारीले त्यस समयमा बुझाएका सबै प्रमाणपत्रहरु अख्तियारमा पेश गर्नुपर्ने हुन्छ।

अध्यक्ष भण्डारीले यसअघिको सरकारको पालामा सञ्चार मन्त्री रेखा शर्माको विज्ञ सल्लाहकार हुँदै प्राधिकरणमा नियुक्ति पाएका थिए। जसको लागि उनले आवेदनसहितका करिब ४७ पेजको नागरिकता, शैक्षिक प्रमाणपत्रदेखि विभिन्न कम्पनीहरुमा पाएका नियुक्ति र अनुभवका प्रमाणहरु त्यसबेला गठित सिफारिस समितिमा बुझाएका थिए। ति सबै प्रमाणपत्रहरु अब अनुसन्धानको दायरामा आएका छन्।

स्मरण रहोस्, टेक्नोलोजीखबरले यस विषयमा समाचार प्रकाशित गर्दै भण्डारीको कार्यअनुभवको कागजातमाथि प्रश्न उठाएको थियो। भण्डारीले प्राधिकरण अध्यक्ष हुनका लागि बुझाएका कागजातहरु हेर्दा एकै समय र अवधिमा दुई फरक देशका फरक-फरक टेलिकम कम्पनीहरुमा जागिर खाएको टेक्नोलोजीखबरले प्रकाशित गरेको थियो।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले एकैसाथ जागिर खाएका थिए स्वदेश र विदेशका उस्तै प्रकृतिका कम्पनीहरुमा: नैतिक प्रश्न खडा

ती कागजातहरु हेर्दा, उनले स्पाइस नेपालमा सन् २००७ जुन १० तारिखदेखि २००८ जनवरी २० सम्म सालाखाला ७ महिना १० दिन काम गरेको एनसेल आजियाटाले सन् २०१७ जुन १ तारिखमा दिएको अनुभव पत्रमा उल्लेख छ।

बुरुण्डीको लासेलले २०१६ को सेप्टेम्बर १४ मा दिएको, उनको राजीनामा स्वीकृत गरिएको पत्रमा उनले ‘लासेल एसयू (टी/ए स्मार्ट)’ मा सन् २००८ जनवरी १ तारिखबाट सन् २०१६ जनवरी ११ तारिखसम्म सीईओको भूमिकामा काम गरेको’ उल्लेख छ।

स्पाइस नेपाल र लासेलका आधिकारिक पत्रहरु तुलना गर्दा अध्यक्ष भण्डारीले २००८ को जनवरी १ तारिखमै बुरुण्डीमा लासेलको कार्यकारी अधिकारयुक्त पदमा नियुक्ति लिएको तर त्यतिबेला उनी नेपालमा सञ्चालनमा रहेको टेलिकम कम्पनी स्पाइस नेपालमै ‘बहालवाला’ रहेको देखिन्छ।

यस हिसाबले उनी जनवरी १ देखि जनवरी १९, २००८ को १९ दिन स्पाइस नेपालमा डेपुटी चिफ फाइनान्स अफिसर र लासेल एसयू बुरुण्डीमा सीईओका रुपमा समानान्तर रुपमा एकै पटक काम गरेको दस्तावेजले देखाएको छ।

यस्तै, सोही विषयमा भण्डारीको विरुद्धमा अख्तियारमा परेको उजुरीमा उनले एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पदसमेत देखिएको कागज हेर्दा प्रष्ट हुने जिकिर गरिएको थियो।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीको कार्यानुभवको कागजात नक्कली भएको भन्दै अख्तियारमा उजुरी

हेर्नुस् अख्तियारले सञ्चार मन्त्रालयलाई पठाएको पत्र-

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार