Technology Khabar ३ बैशाख २०८२, बुधबार
काठमाडौं ।
चिप डिजाइनर एनभिडियाले आगामी चार वर्षमा अमेरिकामा ५०० अर्ब अमेरिकी डलरको आर्टिफिशियल इन्टेलिजेन्स इन्फ्रास्ट्रकचर (कृत्रिम बुद्धिमत्ता पूर्वाधार) निर्माण गर्ने बताएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एनभिडियाले मुख्यतया ताइवानमा उत्पादन गर्ने सेमिकन्डक्टरहरूमा आसन्न शुल्क लगाउने धम्की दोहो¥याएपछि र यस महिनाको सुरुमा चिपमेकरका प्रमुख कार्यकारी जेन्सेन हुआङले राष्ट्रपतिको मार–ए–लागो रिसोर्टमा खाना खाएपछि यो घोषणा आएको हो भनि विदेशी मिडियाले उल्लेख गरेको छ।
एनभिडियाको चिप्सले हालैका वर्षहरूमा आर्टिफिशियल इन्टेलिजेन्स (एआई) विकासको विशाल लहरलाई वृद्धि गर्न मद्दत गरेको बताइएको छ। एआईमा प्रयोग हुने चिप्स बनाउने कम्पनी एनभिडियाले अब अमेरिकामा “सुपर कम्प्युटर“ निर्माण गर्नको लागि आफ्ना निर्माण साझेदारहरूसँग मिलेर कारखानाहरू डिजाइन र निर्माण गर्ने उल्लेख गरिएको छ।
यसको एआई चिप्सको लागि बलियो मागको कारण एनभिडियाको स्टक मूल्याङ्कन हालका वर्षहरूमा बढेको र सन् २०२० देखि शेयरहरू १,००० प्रतिशत भन्दा बढीले बढेको उल्लेख गरिएको छ।
यस वर्षको सुरुदेखि नै ट्यारिफ अनिश्चितताले कम्पनीको बजार मूल्यबाट सयौं अर्ब डलर गुमाएको र शेयर मूल्य लगभग २० प्रतिशत घटेको बताइएको छ।
ट्रम्प अझै पनि सेमिकन्डक्टर र औषधिको आयातमा शुल्क लगाउने योजनामा अगाडि बढिरहेका छन्। मंगलबार, अमेरिकी वाणिज्य विभागले अमेरिकी राष्ट्रिय सुरक्षामा चिप्स र औषधिको आयातको प्रभावको बारेमा अनुसन्धान सुरु गरेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ३ बैशाख २०८२, बुधबार