स्पेसएक्सद्वारा २७ स्टारलिंक इन्टरनेट स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
स्पेसएक्सद्वारा २७ स्टारलिंक इन्टरनेट स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

स्पेसएक्सले आज (अप्रिल ३) बेलुकी क्यालिफोर्नियाबाट २७ स्टारलिंक इन्टरनेट उपग्रहहरूलाई पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ अर्बिटतर्फ प्रक्षेपण गरेको छ।

फाल्कन ९ रकेट स्टारलिंक उपग्रहहरू लिएर भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट अमेरिकी पूर्वी समय अनुसार राति ९:०२ बजे (स्थानीय क्यालिफोर्निया समय ६:०२ बजे; अप्रिल ४ को ०१:०२ जीएमटी, नेपाली समयअनुसार शुक्रबार बिहान ६:४७) प्रक्षेपण गरिएको थियो।

स्पेस डटकमका अनुसार प्रक्षेपण भएको करिब आठ मिनेटपछि रकेटको पहिलो चरण सफलतापूर्वक प्रशान्त महासागरमा रहेको स्पेसएक्सड्रोन जहाज अफ कोर्स आई स्टिल लभ यू मा अवतरण भयो। यो बूस्टरको पाँचौं प्रक्षेपण र अवतरण भएको स्पेसएक्सको मिशन विवरणमा उल्लेख गरिएको छ।

योजनाअनुसार सबै ठीक रहेमा, फाल्कन ९ को माथिल्लो चरणले स्टारलिंक उपग्रहहरू प्रक्षेपण भएको करिब एक घण्टापछि कक्षमा छोड्नेछ।

यो प्रक्षेपण स्पेसएक्सको सोमबार (मार्च ३१) गरिएको डबल प्रक्षेपणपछि भएको हो, जसमा अर्को स्टारलिंक ब्याच तथा फ्राम२ निजी अन्तरिक्षयात्री मिशन (पृथ्वीका ध्रुवहरू माथि पुग्ने पहिलो मानव मिशन) अन्तरिक्षतर्फ पठाइएको थियो।

स्पेसएक्सले २०२५ मा अहिलेसम्म ३८ वटा फाल्कन ९ मिशन पूरा गरिसकेको छ, जसको करिब दुई-तिहाइ स्टारलिंक मेगाकन्ष्टेलेसन निर्माणका लागि समर्पित छन्।

स्टारलिंक अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो उपग्रह नेटवर्क हो। खगोलशास्त्री तथा उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलका अनुसार, हाल ७,१०० भन्दा बढी सक्रिय स्टारलिंक स्याटेलाइटहरू कक्षमा सञ्चालनमा छन्।

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार