Technology Khabar ३ माघ २०८१, बिहीबार
काठमाडौं ।
गुगलको नोटटेकिङ एप नोटबुकएलएमले केही महिनाअघि “अडियो ओभरभ्यूज” नामक सुविधा सार्वजनिक गरेको थियो, जसले प्रयोगकर्ताले साझा गरेका जानकारीको आधारमा एआई भर्चुअल होस्टहरूसहितको पाडकास्ट निर्माण गर्छ।
अब भने नोटबुकएलएमले प्रयोगकर्तालाई एआई पडकास्ट होस्टहरूसँग अन्तरक्रिया गर्न सक्ने नयाँ सुविधा उपलब्ध गराएको छ।
टेकक्रञ्चका अनुसार “अडियो ओभरभ्यूज” र एआई होस्टहरूको उद्देश्य प्रयोगकर्ताले अपलोड गरेका कोर्स सामग्री वा कानुनी दस्तावेजजस्ता कागजातहरू सहज रूपमा बुझ्न र त्यसबाट ज्ञान लिन नयाँ तरिका प्रदान गर्नु हो।
यो नयाँ सुविधाले प्रयोगकर्तालाई एआई होस्टसँग संवाद गर्न, थप जानकारी माग्न, वा कुनै अवधारणालाई फरक तरिकाले बुझाउन आग्रह गर्न सघाउँछ।
एआई होस्टसँग कसरी संवाद गर्ने?
नयाँ अडियो ओभरभ्यू सिर्जना गर्नुहोस्।
“Interactive mode (BETA)” बटनमा ट्याप गर्नुहोस्।
प्ले थिचेपछि, “Join” विकल्पमा ट्याप गरेर आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ।
होस्टले तपाईंलाई सम्बोधन गरी उत्तर दिनेछ।
गुगलका अनुसार यो सुविधा व्यक्तिगत ट्युटरजस्तै अनुभव प्रदान गर्नेछ, जसले प्रयोगकर्ताका प्रश्न सुनेर उनीहरूले प्रदान गरेका स्रोतहरूको आधारमा जवाफ दिन्छ।
गुगलले यो सुविधा परीक्षण चरणमा रहेको बताएको छ। यो सुविधा केवल नयाँ अडियो ओभरभ्यूमा मात्र उपलब्ध हुनेछ। होस्टहरूले कहिलेकाहीं जवाफ दिनुअघि “अड्किएजस्तो” देखिन सक्छन्। उत्तर कहिलेकाहीं गलत हुन सक्ने सम्भावना पनि छ।
नयाँ अपडेट
एपको रिडिजाइन: नयाँ अपडेटमा एपका उपकरणहरूलाई सोर्सेज,च्याट र स्टुडियो गरी तीन प्यानलमा पुन: व्यवस्थित गरिएको छ।
“नोटबुकएलएम प्लस“: व्यवसायका लागि प्रिमियम संस्करण, जसले थप सुविधाहरू उपलब्ध गराउनेछ।
गुगलका अनुसार यो फिचर सार्वजनिक भएदेखि प्रयोगकर्ताहरूले ३५० वर्षभन्दा बढी समय बराबरका अडियो ओभरभ्यूहरू सिर्जना गरेका छन्।
यो सुविधा शिक्षाका साथै कागजातको गहिरो अध्ययनका लागि सहयोगी बन्ने अपेक्षा गरिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: ३ माघ २०८१, बिहीबार