अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण हुँदैछ : सञ्चारमन्त्री गुरूङ

Technology Khabar १३ मंसिर २०८१, बिहीबार

अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण हुँदैछ : सञ्चारमन्त्री गुरूङ
सञ्चारमन्त्री गुरुङ–मन्तव्य गण्डकी, १२ मङ्सिरः सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा बुधबार पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ । तस्बिरः रामबहादुर थापा÷रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरूङले मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालको व्यवस्थापन तथा नियमनका लागि कानुन निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा बुधबार पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्रियामा उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँचलाई पनि आगामी वर्षभित्र देशका हेरक घरधुरीमा पुर्याइने उल्लेख गरेका छन्।

राज्यद्वारा सञ्चालित चारवटै सञ्चारमाध्यमको पुनःसंरचना र पुनःव्यवस्थापनको काम सुरू गरिएको उनले थप उल्लेख गरे। उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुन धेरै पुराना भएकाले आगामी वर्षभित्र परिमार्जन सबै सञ्चार कानुनलाई समायनुकूल परिमार्जन गरिने बताएका छन्।

मन्त्री गुरूङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाहरूलाई गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्ने उल्लेख गरे। उक्त अन्तक्रिया कार्यक्रममा मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए।

“सार्वजनिक सेवा प्रसारणअन्तर्गत आएको रेडियो नेपाल र नेपाल टेलिभजनलाई सेवामूलकसँगै प्रतिस्पर्धी सञ्चारमाध्यमका रूपमा विकास गर्छौं”, भन्दै मन्त्री गुरूङले “गोरखापत्र र राससलाई पनि सोही प्रारूपमा सञ्चालन गर्नु आवश्यक रहेको” बताएका छन्।

साथै रासस र गोरखापत्रले समेत विभिन्न राष्ट्र भाषामा सञ्चार सामग्री उत्पादन र सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै मन्त्री गुरूङले आमसञ्चारका माध्यम समावेशी चरित्रको हुनुपर्ने धारणा राखे।

रेडियो नेपालबाट २५ भाषामा समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण हुँदै आएकामा निकट भविष्यमा थप राष्ट्र भाषाको समाचार प्रसारणको तयारी भइरहेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले जानकारी दिएका छन्। –रासस

प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया