मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुनेछन् : सञ्चारमन्त्री

Technology Khabar १४ कार्तिक २०८१, बुधबार

मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुनेछन् : सञ्चारमन्त्री
फाइल तस्बिर।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा आज काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सुशासन कायम गर्न मिडिया निरन्तर लाग्नुपर्ने बताए।

यसैगरी मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। “मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुने छन्”, उनले भने, “समानतामूलक समाज निर्माण र विविधताबीच एकता कायम गर्न मिडियाले भूमिका खेल्नुपर्छ।”

समाज तथा जनताको लागि काम गर्न सञ्चार जगत्ले सरकारलाई सुझाव दिनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सुशासनको पक्षमा पत्रकारले गम्भीररूपमा कलम चलाउनुपर्ने बताए। विद्युतीय अपराधलाई कडाइका साथ निगरानी गर्नुपर्नेमा उनको जोड रहेको छ।

शुभकामना कार्यक्रममा महासङ्घको कार्यवाहक अध्यक्ष बाला अधिकारीले आगामी मङ्सिर २८ का लागि महासङ्घको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तोकिएको भन्दै जसरी पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाइन्।

महासङ्घकै पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दीपावली तथा छठपर्वको शुभकामना व्यक्त गर्दै महासङ्घको निर्वाचन समयमा नै सम्पन्न गर्न सुझाव दिए।

पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालमा मिडिया सङ्कटको अवस्थामा रहेको भन्दै समस्या सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए। महासङ्घका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पनि महासङ्घमा देखिएका समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताए।

यसैगरी महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपाल पत्रकार महासङ्घलाई निरन्रता र जीवन्तता दिन आवश्यक रहेको बताए।

सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्ष विमला तुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, महासङ्घका सल्लाकार निर्मला शर्मा सदस्यलगायतले महासङ्घमा देखिएका समस्या निराकरण गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: १४ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया