जामजाम इलेक्ट्रोनिक्सको नाममा नक्कली फेसबुक पेजमार्फत करिब ५० लाख ठगी गर्ने चारजना पक्राउ

  • Technology Khabar | २० फाल्गुन २०८०, आईतवार
जामजाम इलेक्ट्रोनिक्सको नाममा नक्कली फेसबुक पेजमार्फत करिब ५० लाख ठगी गर्ने चारजना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीले अनलाईन मार्फत ठगी गर्ने ब्यक्तिहरु पक्राउ गरेको छ।जामजाम इलेक्ट्रोनिक्सको नाममा फेक फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले पक्राउ गरेको हो।पिडितहरुलाई फेसबुक, ह्वाट्सएप, भाइबर, इमो जस्ता सामाजिक संजालको माध्यमबाट साथी बनाई एप्सहरुको प्रयोग गरी विभिन्न एकाउन्टहरुबाट फ्रेण्ड रिक्वेस्ट पठाई, फलो गरी साथी बनाई अनलाईन मार्फत फेक एकाउन्ट प्रयोगकर्ताहरुले कुराकानी गरी रकम माग गर्ने गरेका थिए।

यसकासाथै, जामजाम इलेक्ट्रोनिक, नामक फेसबुक पेजहरुमा बिभिन्न मंहगो ब्राण्डका मोबाइल तथा आईफोन सेटहरु सस्तो मूल्यमा खरिद बिक्रि वितरण गरेको लाइभ भिडियो पेजमा पोस्ट गरी पेज मेसेन्जरमा अनलइन च्याट गरी बिभिन्न ब्राण्डका मोबाईल सेट, आईफोन १४ प्रो म्याक्स, जस्ता मंहगो मूल्यका मोबाईल सेटहरु उपलब्ध गराई दिने भन्ने जस्ता प्रलोभन देखाई रकम पठाउन लगाउने र अमेरिका लगायतका देशहरुबाट पार्सल स्वरुप सुनका गरगहना, औठी, जुत्ता, कपडा लगायतका सामानहरु पठाई दिएका छौं, भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनको लागी रकम पठाउन लगाउने र आकर्षक तलब सुबिधामा बिदेश पठाई दिन्छौं, भन्ने जस्ता बिभिन् प्रलोभनहरु सामाजिक संजाल मार्फत देखाउने गरेको प्रहरीको भनाई छ।

यसपछि उनीहरुले विभिन्न नम्बरहरुमा संचालित ह्वाट्सएप आईडीहरुमा पाँच जना पिडितहरुसंग कल र मेसेजगरी बिश्वासमा पारी नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम पठाउन लगाई अनलाईन मार्फत उनपच्चास लाख अन्ठाउन्न हजार आठ सय रुपैयाँ रकम ठगी गरेको उपत्यका अपराध प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुले दुबईमा रहेको जामजाम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरु जस्तै बनाएर नेपालमा पनि नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गरेको भेटिएको प्रहरीको भनाई छ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको बिष्णु गा.पा. वडा नं. ४ घर भई हाल का.जि. पुरानो बानेश्वर बस्ने बर्ष २१ को आदित्य कुमार सिंह, बर्ष २० को सिद्धार्थ कुमार सिंह, बारा कलैया उप म.न.पा. वडा नं.११ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने बर्ष २२ को राम सेवक राम र बीरगंज म.न.पा. वडा नं. १५ घर भई हाल गठ्ठाघर बस्ने बर्ष २४ को आकाश साह सोनारलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार