
काठमाडौं ।
इलन मस्कको कम्पनी स्पेसएक्सले फेरि एकपटक विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारशिप’ को परीक्षण लन्च गर्न सक्नेछ। यो रकेट पहिलो पटक २० अप्रिलमा उडाइएको थियो, तर स्पेसएक्सले सफलता पाउन सकेन।
रकेट अमेरिकाको साउथ टेक्सासको लन्चप्याडबाट उडेको केही मिनेटमै आकाशमा अनियन्त्रित हुँदा विस्फोट भएको थियो। त्यसबेला स्पेसएक्सको उद्देश्य स्टारशिपको माथिल्लो चरणलाई निश्चित उचाइमा उडाउने थियो, तर यो हुन सकेन।
तर, अब फेरि स्टारसिप रकेट प्रक्षेपण गर्ने तयारी भइरहेको छ। बुधबार एक ट्वीटमा, इलन मस्कले संकेत गरे कि कम्पनीले ६ देखि ८ हप्तापछि अर्को लिफ्ट अफको लागि तयारी गरिरहेको छ।
मस्कको भनाइ कति साँचो साबित हुन्छ, त्यो आउने दिनमा थाहा हुनेछ, किनकि पहिलो असफलतामा स्पेसएक्सको प्रक्षेपण साइटलाई पनि धेरै नोक्सान भएको छ। निकै शक्तिशाली रहेको रकेट प्रक्षेपणको क्रममा प्रक्षेपण स्थलमा खाल्डाहरू बनेएको थियो। यो साइट पुनर्स्थापित गर्न केहि महिना लाग्ने रिपोर्ट गरिएको थियो।
यति मात्र होइन, स्पेसएक्सको प्रक्षेपणको निकै आलोचना पनि भएको थियो । वातावरणीय क्षेत्रको एउटा समूहले अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) विरुद्ध मुद्दा दायर गरेको छ। एफएएले रकेट प्रक्षेपणबाट भएको क्षतिको पूर्ण विश्लेषण नगरेको समूहको विश्वास छ।
के हो स्टारशिप ?
स्टारशिप पुन: प्रयोययोग्य रकेट हो। यसमा मुख्यतया दुई भाग हुन्छन्। पहिलो यात्रु बोक्ने खण्ड हो, जहाँ यात्रुहरू बस्नेछन्, जबकि दोस्रो सुपर हेभी रकेट बूस्टर हो। स्टारशिप र बूस्टरसहित, यसको लम्बाइ ३९४ फिट (१२० मिटर) छ। यो रकेट सिस्टमको तौल ५० लाख किलो छ।
जानकारी अनुसार, स्टारशिप रकेटले १६ मिलियन पाउन्ड (७० मेगान्यूटन) थ्रस्ट उत्पादन गर्न सक्षम छ। यो नासाको स्पेस लन्च सिस्टम (एसएलएस) रकेट भन्दा झन्डै दोब्बर उच्च क्षमता हो। यसलाई पृथ्वीकै सबैभन्दा शक्तिशाली रकेट सिस्टम भएको मानिन्छ।
भविश्यमा कुनै एक दिन स्टारशिप रकेटबाट मात्रै मानिसले मंगल ग्रहको यात्रा गर्ने विश्वास गरिन्छ।
प्रकाशित: १ असार २०८०, शुक्रबार