सार्वजनिक बिदाको दिन यातायात कार्यालयको सेवा प्रवाह हुने

  • Technology Khabar | २२ बैशाख २०८०, शुक्रबार
सार्वजनिक बिदाको दिन यातायात कार्यालयको सेवा प्रवाह हुने
फाइल तस्बिर।

काठमाडौं ।

सार्वजनिक बिदाको दिन बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा प्रवाह हुने भएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा उपलब्ध हुने यातायात सेवा कार्यालय सानो भर्याङ्गका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए।

गत फागुनमा सरकारले सार्वजनिक बिदामा अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय खोल्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजित शुक्रबार बैशाख २२ गते पर्न गएको (उभौली पर्व, बुद्धजयन्ती) को सार्वजनिक बिदाको दिनमा पनि सेवा दिन लागिएको हो।

सार्वजनिक बिदाको दिन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक)का सेवा खुल्ला हुनेछन्। त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरणलगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन्। अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवालाई पनि सार्वजनिक बिदामा प्रवाह हुनेछ। उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरीलगायत सेवामा बिदाले प्रभाव पार्नेछैन । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका काम पनि बिदाका दिन सञ्चालनमा रहनेछन्।

जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) मा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि, फागुन २८ ग्याल्पो ल्होसार÷बकर इदका दिन सरकारी सेवा सञ्चालन हुनेछन्।

प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार