सुरक्षित कर्णाली अभियान अन्तरगत ३६६ ओटा सीसीटीभी जडान गरिने

Technology Khabar २० बैशाख २०८०, बुधबार

सुरक्षित कर्णाली अभियान अन्तरगत ३६६ ओटा सीसीटीभी जडान गरिने
सांकेतिक तस्बिर

काठमाडौं ।

कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको तयारी गरेको छ। जसमा ३६६ ओटा सीसीटीभी जडान गरिने भएको छ।

प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको कार्ययोजनासमेत निर्माण गरेको छ। जसमा १४ वटा क्षेत्रमा ७४ वटा क्रियाकलाप गर्ने जनाइएको छ। ती क्रियाकलापमध्ये ३५ वटा क्रियाकलाप स्थानीय तहसँग सम्बन्धित रहेका छन्। प्रदेशभर रहेका तीन लाख ७१ हजार १४५ घरमा जनचेतनामूलक स्टिकर टाँस गर्ने, सीसीटीभी विस्तार गर्ने, मोटरसाइकल व्यवस्थापन गर्ने, वैज्ञानिक अपराध अनुसन्धान, महिला प्रहरी बिटसहितको सुरक्षालगायत छन्।

सुरक्षित कर्णालीका लागि कर्णालीका विभिन्न जिल्लामा गरी ३६६ वटा सीसीटीभी जडान गर्नुपर्ने सो कार्ययोजनामा उल्लेख छ।

सुर्खेतमा ४०, दैलेखमा ९५, जाजरकोटमा १९, सल्यानमा ३४, रुकुममा ७१, कालीकोटमा २१, जुम्लामा १८, मुगुमा २२, हुम्लामा २० र डोल्पामा २६ गरी ३६६ वटा सीसीटीभी सदरमुकाम, बजार क्षेत्र र राजमार्गमा जडान गरेर अपराध तथा दुर्घटनामा कमी ल्याउन सकिने योजना प्रहरीले अघि सारेको छ। यो काममा पनि स्थानीय तहहरूले सहयोग गर्ने जनाइएको छ। पालिका नै सुरक्षित भएको खण्डमा जिल्ला र प्रदेशलाई सुरक्षित बनाउन सकिने अभियानको मुख्य उद्देश्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालले बताए।

विज्ञ एवं पूर्वउपप्रमुख डा. सीता ढुङ्गानाले प्रहरीले सीसीटीभी जडान, पार्किङ व्यवस्थापनलगायतका विषयमा प्रहरीले स्थानीय तहसँग सहकार्य गर्न सक्ने जानकारी दिईन्। गोरखापत्रबाट

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया