Technology Khabar २० बैशाख २०८०, बुधबार
काठमाडौं ।
प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनशैलीमा सहजता ल्याएको ताप्लेजुङमा आयोजित एक अन्तक्रियामा सहभागीले बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मङ्गलबार आयोजित अन्तक्र्रियामा प्रविधिको सही प्रयोगले नागरिकलाई सहज भएको सहभागीको भनाइ थियो।
जिल्लास्थित कम्प्युटर एशोसियन नेपाल महासङ्घ (क्यान) ले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राजकुमार गुरुङले प्रविधिको सही प्रयोगले साँच्चिकै नागरिकको जीवन व्यवहारमा सहजता ल्याएको बताए। ‘सूचना र प्रविधिको बढ्दो प्रयोगः सम्भावना र चुनौती’ विषयक अन्तक्रियामा गुरुङले प्रविधिको सही प्रयोग र उपयोगले मानिसको दैनिकी, जीवनशैली र कार्य कौशलतालाई सजिलो बताएको बताए।
उनले प्रविधिको गलत प्रयोग (दुरुपयोग) भएमा भने नागरिकको जीवनमा अप्ठ्यारा परिस्थिति पनि सिर्जना गराइरहेको बताए। कार्यपत्र प्रस्तुत गर्दै उनले बढ्दो सामाजिक सञ्जालमा गलत प्रयोगको अवस्थासमेत रहेकाले सबै प्रयोगकर्तालाई सचेत र सही प्रयोग गर्न पनि उनले आग्रह गरे। प्रविधिको सही प्रयोगले मात्र हालीले बढी भन्दा बढी उपलब्धि लिन सकिने उनले बताए।
कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सूचना र प्रविधिबिना वर्तमान अवस्थामा कोही पनि नागरिक बाँच्न नसक्ने बताए। नगर प्रमुख मादेनले प्रविधिको विकास हुनुअघि धेरै असम्भव रहेको विषय अहिले सम्भव भएको बताए। उनले प्रविधिको सही सदुपयोगले नागरिकको चेतना क्षमतामा विकास गराएको पनि बताए।
उनले सूचना र प्रविधिसम्बन्धी क्यानले गर्दै आएको गतिविधि सदरमुकाम केन्द्रित नभई वडा वडासम्म विस्तार गर्न पनि आग्रह गरे। प्रविधिको विकास र थप सुदृढीकरण कार्यका लागि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजनसहित आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाए।
यस्तै अन्तक्रियामा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले प्रविधिको प्रयोगको नाममा हुने सामाजिक सञ्जाललाई कतिपय गलत प्रयोग गर्ने गरिएको पनि बताए। उनले सही प्रयोग गरेमा मात्र प्रविधि नागरिकको जीवन व्यवहारका सहयोगी हुने बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीले पनि प्रविधिलाई गलत प्रयोग गर्ने गरेका कारण कतिपय प्रयोगकर्ता अपराध कसुरमा फस्ने गरेका बताए। उनले ताप्लेजुङमा पनि प्रविधिको दुरुपयोग हुने गरेको बताउँदै यसको सही प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।
सूचना प्रविधि तथा इन्टरनेटसँग सम्बन्धित सरोकारवालासहित शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, कानुन व्यवसायी, स्थानीय जनप्रतिनिधिलगायत अन्तक्रियामा सहभागी रहेका थिए। कार्यक्रम सुबिसु, टेकमाइन र सेवारो नेटवर्क नामक इन्टरनेट सेवा प्रदायक संस्थाको सहयोगमा आयोजना गरिएको कम्प्युटर एशोसियन महासङ्घ नेपाल (क्यान) का जिल्ला अध्यक्ष विष्णुकुमार हाङ्बाङ लिम्बूले जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: २० बैशाख २०८०, बुधबार