गुगल प्रमुख सुन्दर पिचाईको गत वर्षको तलब प्याकेज २२ करोड ६० लाख डलर

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
गुगल प्रमुख सुन्दर पिचाईको गत वर्षको तलब प्याकेज २२ करोड ६० लाख डलर

काठमाडौं ।

इन्टरनेट सर्च इन्जिन गुगल चलाउने अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले गत वर्ष करिब २२ करोड ६० लाख डलरको कुल तलब प्याकेज पाएका थिए। यो कम्पनीका कर्मचारीको औसत तलबभन्दा ८०० गुणा बढी हो।

कम्पनीले एक फाइलिङमा पिचाईको क्षतिपूर्तिमा लगभग २१९ मिलियन डलरको स्टक पुरस्कार समावेश भएको बताएको छ। पछिल्ला केही महिनाहरूमा, अल्फाबेटले विश्वभरका आफ्ना कार्यालयहरूमा छाँटकाँट गरेको छ।

कम्पनीले यस वर्षको सुरुमा १२ हजार कामदारलाई निकालिएको जानकारी दिएको थियो । यो कुल जनशक्तिको ६ प्रतिशत हो । कम्पनीले निकालेको कारण धेरै कामदार आक्रोशित छन् । यस महिनाको सुरुमा, सयौं कामदारहरू लेअफमा विवाद भएपछि अल्फाबेटको लन्डन कार्यालयबाट बाहिर निस्केका थिए। मार्चमा, कम्पनीको ज्यूरिख कार्यालयबाट २०० भन्दा बढी कामदारहरूलाई निकालेपछि, कामदारहरूले यस्तै तरिकाले विरोध गरे।

प्रविधि क्षेत्रका धेरै कम्पनीहरूले पछिल्ला केही महिनामा नाफा घट्दै गएका कारण आफ्नो खर्च घटाउनका लागि कर्मचारी कटौती जस्ता कदम चालेका छन्। यसमा माइक्रोब्लगिङ साइट ट्विटर र सफ्टवेयर कम्पनी माइक्रोसफ्ट पर्छन्। प्राविधिक कम्पनीहरूको व्यवसाय महामारीको समयमा द्रुत गतिमा बढ्यो र यसको प्रभाव उनीहरूको मूल्याङ्कनमा पनि देखिएको थियो। त्यसयता मुद्रास्फीति र ब्याजदरमा भएको वृद्धिका कारण यी कम्पनीको मूल्याङ्कनमा उल्लेख्य गिरावट आएको छ।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...