आम्दानी घटेसँगै एनसेलको चौथो त्रैमासिक राजस्व ९ अर्ब ६१ करोडमा झर्यो, डाटाको योगदान बढ्दो क्रममा

  • Technology Khabar | १२ फाल्गुन २०७९, शुक्रबार
आम्दानी घटेसँगै एनसेलको चौथो त्रैमासिक राजस्व ९ अर्ब ६१ करोडमा झर्यो, डाटाको योगदान बढ्दो क्रममा
ललितपुर, पुल्चोक स्थित लबिम मलमा राखिएको एनसेल आजियाटा लिमिटेडको फोरजी सेवाको विज्ञापन। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

पछिल्लो त्रैमासमा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाको आम्दानी घटेको छ। एनसेल आजियाटाको सन् २०२२ को चौथो त्रैमासिक लगायत आर्थिक वर्ष २०२२ को राजस्वमा नै कमी आएको सार्वजनिक वित्तीय प्रतिवेदनले देखाएको छ।

बिहिबार प्रकाशित एनसेलको चौथो त्रैमासिक वित्तिय प्रतिवेदनअनुसार ९ अर्ब ६१ करोड रुपैयाँ त्रैमासिक आम्दानी र आर्थिक वर्ष २०२२ को कुल वार्षिक राजस्व ३९ अर्ब ८१ करोड रहेको छ।

तथ्यांकअनुसार राजस्व डिभाइसहरुबाट हुने आम्दानी ४ प्रतिशतले घटेको छ, भने कोर अर्थात मुख्य आम्दानी ३.१ प्रतिशत र न्यून अन्तर्राष्ट्रिय लामो दूरीको कलबाट हुने आम्दानीमा ८.१ प्रतिशतको कमी आएको जनाएको छ।

बिहिबार प्रकाशित आजियाटाको वित्तिय प्रतिवेदनअनुसार एनसेलले २०२२ को चौथो त्रैमासिकमा ९ अर्ब ६१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। यो आम्दानी आर्थिक वर्ष २०२१ को सोही अवधिको तुलनामा ५८ करोड ३६ लाख ४० हजारले कम हो भने अघिल्लो त्रैमासको आधारमा करिब ४१ करोड रुपैयाँले कमी आएको देखिन्छ। तेस्रो त्रैमासिकमा टेलिकमले १० अर्ब २ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

यसबीचमा राजस्व प्रवाहमा डाटाको योगदान ३३ प्रतिशत पुगेको कम्पनीको पछिल्लो वित्तीय तथ्याङ्कले देखाएको छ। अघिल्लो त्रैमासमा राजस्वमा यस्तो डाटाको योगदान केवल ३१ प्रतिशत थियो।

कम्पनीले यस बिचमा प्रत्यक्ष खर्च बिक्री तथा मार्केटिङ्ग खर्च लगायत घटाउन सफल भएको देखिन्छ तर नेटवर्क मर्मतमा भने खर्च केहि वृद्धि भएको छ।

एनसेलले चौथो त्रैमासमा आम्दानी गुमाए पनि नगद तथा नगद प्रवाहमा उल्लेख सुधार गरेको छ। कम्पनीसँग सो त्रैमासमा १८ अर्ब ४१ करोड ५० लाख रुपैयाँ नगद रहेको छ। जबकी अघिल्लो त्रैमासमा नगदको अवस्था १७ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको थियो।

यसैगरी कम्पनीले उक्त अवधिमा डाटाको प्रयोग बढाएर मासिक ३ हजार ७०१ एमबीबाट प्रति ग्राहक ४ हजार ७९ एमबी पुर्याउन सकेको देखिएपनि औसत प्रति ग्राहक आम्दानी ९ रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ।

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार