सूर्योदय नगरपालिकाको डिजिटल फड्को

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार
सूर्योदय नगरपालिकाको डिजिटल फड्को

काठमाडौं ।

इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ।

प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ। नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ।

अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ ।

नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताए । उनले भने, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”

नगरले सबै प्रकारका कर ई–सेवा, खल्तीलगायतका एप्सबाट तिर्न मिल्ने बनाएको छ । नगरप्रमुख राईले सेवा छिटोछरितो र समयको बचत गर्न डिजिटल प्रविधिले काममा ठूलो सहयोग पुग्ने बताए। नगरप्रमुख राईले कुनै जनप्रतिनिधिको अनुहार हेर्न मन नलागेको भए पनि अब अनुहार नहेरी काम गर्न सकिने वातावरण बनाइएको बताए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले डिजिटल माध्यमको विकास र विस्तारले जवाफदेहिता र पारदर्शिता बढ्ने बताए । “अनलाइन सेवाले काम गर्न दुवै पक्षलाई सहज भएको छ,” उनले भने ।

नगरले यसअघि नै ईएटी सिस्टममार्फत भुक्तानी दिने व्यवस्था मिलाइसकेको छ। नगरपालिका, वडा कार्यालय र नगरका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान थालेको नगरले नगर सभा र महत्त्वपूर्ण  कार्यक्रम डिजिटल डिस्प्लेमार्फत प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

नगरपालिकाका सवारीसाधनमा यसअघि नै जीपीएस जडान गरिसकिएको छ। नगरपालिका, वडा कार्यालय र विद्यालयमा ई हाजिरी यसअघि नै सञ्चालनमा ल्याइसकेको छ।

नगरपालिकामा वेदर स्टेसन (मौसमको रेकर्ड राख्ने यन्त्र) जडान गरिसकेको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक्स प्यानल बोर्ड उपलब्ध गराइरहेको छ । गोरखापत्रबाट

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार