गुनासो नआउने गरी काम गर्न सञ्चार मन्त्री कार्कीको निर्देशन

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार
गुनासो नआउने गरी काम गर्न सञ्चार मन्त्री कार्कीको निर्देशन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन्। उनले मन्त्रालयको साखलाई थप उच्च बनाउन तथा कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न मातहत निकायका प्रमुख र कर्मचारीलाई निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार बसेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले यस्तो निर्देशन दिए। उनले खर्चमा मितव्ययिता अपनाउन र पूँजीगत खर्च बढाउनसमेत निर्देशन दिए।

उनले मन्त्रालयले तय गरेका सबै योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन देखिएका समस्याको नीतिगत रूपमै समाधान गर्नुपर्ने बताउँदै आयोजनालाई सम्पन्न गर्न राजनीतिक नेतृत्वबाट चाहिने सहयोग गर्न आफू तयार रहेको बताए।

सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाए।

मन्त्रालयले गत आर्थिक वर्ष २०७८/७९ मा १४२ ओटा महत्त्वपूर्ण कार्ययोजना तय गरेकोमा ६७ ओटाको कार्य सम्पन्न भइसकेको छ भने ४३ ओटाको काम सुरु भए पनि अहिलेसम्म सम्पन्न हुन सकेका छैनन्। त्यसैगरी ३२ ओटाको काम अहिलेसम्म सुरु हुन नसकेको जानकारी दिइयो।

उनले भने, “हामीले योजनालाई अगाडि बढाउनका लागि कहाँ–कहाँ समस्या छन्, ती समस्यालाई समाधान गर्न सकेनौँ भने सधैँ हामी यस्तै समीक्षा बैठक गर्नेछौँ र यो मन्त्रालयले गर्न खोजेको काम फलानो मन्त्रालयले अवरोध गरेका कारण हामी अगाडी बढ्न सकेनौँ भन्ने कुरा हुन्छ, त्यसले गर्दा नीतिगत रुपमै त्यसलाई समाधान नगरिकन हाम्रो गति तेजीका साथ अगाडि बढ्न सक्दैन ।”

मन्त्रालयले अहिले दीर्घकालीन रूपमा सकारात्मक असर पार्ने योजना बनाइरहेको र ती योजनाको कार्यान्वयनपछि मन्त्रालयको साखमा वृद्धि हुने विश्वास आफूले लिएको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सेवाग्राहीले अनुभूत गर्ने गरी भौतिक प्रगतितर्फ सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउँदै भौतिक प्रगति वित्तीय प्रगतिबीच तालमेल र समन्वय हुनुपर्ने आवश्यकतामाथि जोड दिए।

उनले भने, ‘‘भौतिक प्रगति राम्रो भए पनि सेवाग्राहीले त्यसको व्यवहारगत रूपमा महसुस गर्न सके कि सकेनन्, त्यो नै महत्त्वपूर्ण कुरा हो।’’

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार