Technology Khabar १५ श्रावण २०७९, आईतवार
काठमाडौं ।
स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभई रहेका समस्याहरुको समाधान गर्ने उद्देश्यले आयोजित २ दिने ह्याकथन कार्यक्रम सम्पन्न भएको छ।
उपत्यकाका विभिन्न दश कलेजहरूमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरू सम्मिलित उक्त कार्यक्रममा “शिशु केयर” भन्ने मोबाइल एपले प्रथम स्थान हासिल गरेको छ। मोबाइलको सहायताले ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरुले नवजात शिशुमा देखिने स्वास्थ्य समस्याहरूलाई समाधान गर्न कसरी डाक्टरहरूसँग सम्पर्क गराउने भन्ने विषयमा सो एप्लिकेशनको प्रोटोटाइप निर्माण गरी प्रदर्शन गरिएको थियो।
गत शुक्रवार र शनिवार सञ्चालित उक्त कार्यक्रममा दोस्रो हुने टोलीले ठुला अस्पतालहरूमा सेवा लिने सेवाग्राहीहरूले भोग्नु परेको समस्यालाई केन्द्रित गरी हस्पिटल न्याभिगेसन सिस्टमको मोबाइल एप्लिकेशनको प्रोटोटाइप निर्माण गरेको थियो।
सूचना प्रविधि तथा स्वास्थ्य क्षेत्रमा लामो समय देखि काम गरी रहेका विज्ञहरूद्वारा मेन्टरिङ्ग गरिएको उक्त ह्याकथनमा तेस्रो हुने टिमले स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचारसँग सम्बन्धित विभिन्न विषयहरू छलफल गर्नको लागी एक मोबाइल तथा वेब एप्लिकेशनको प्रोटोटाइप तयार गरेका थिए।
उक्त कार्यक्रममा प्रथम हुने टिमले साठी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः चालिस र बिस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
जेनेभा डिजिटल हब (स्वीजरल्याण्ड) को सहयोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमले आयोजना गरेको हो।
प्रकाशित: १५ श्रावण २०७९, आईतवार