
काठमाडौं ।
हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयमा आईसीटी ल्याब स्थापना भएको छ।
कम्प्युटर ल्याब (प्रयोगशाला) स्थापना गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट साढे छ लाख रुपियाँ बजेट विनियोजन भएको छ।
कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसीटी ल्याबमा नयाँ कम्प्युटर जडान भएपछि सबै विद्यार्थीले आ–आफ्नो कम्प्युटर प्रयोग गर्न पाएको बताए ।
विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत प्राप्त बजेटले आईसीटी ल्याब स्थापना भएपछि कम्प्युटर शिक्षा पठनपाठनमा निकै सहज भएको बताए । यसअघि स्थापना भएको ल्याबमा कम्प्युटर कम भएकाले विद्यार्थीलाई पालोअनुुसार कम्प्युटर शिक्षा पठनपाठन गराउँदै आएकोमा आर्थिक वर्ष २०७८/७९ मा परेको सो कार्यक्रमबाट कम्प्युटर खरिद गरेपछि निकै सहज भएको उनले बताए ।
एउटा ठूलो हलमा २४ ओटा कम्प्युटर जडान गरी कक्षा सञ्चालन भइरहेको जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार