
काठमाडौं ।
अवैधरूपमा सञ्चालित कल सेन्टरको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान गर्न ब्युरो (सीआईबी)को टोली रुपन्देही आइपुगेको छ ।
तिलोत्तमा–२ जानकीनगर स्थित ब्लु स्काई सोलुसन प्रालिको कल सेन्टरमा रुपन्देही प्रहरीले साउन ८ गते आइतबार छापा हानेको थियो । नौ जना सञ्चालकलाई नियन्त्रणमा लिए पनि अहिले भने दुई जनालाई हिरासतमा राखेर प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको हो ।
कल सेन्टरमा त्यहाँ भइरहेका गतिविधि यसका प्रभावबारे सूक्ष्म अध्ययन अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए । उनकाअनुसार साइबर ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ।
सीआईबीको टोलीले बरामद गरिएका कम्प्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएका एप्सहरूबारे अनुसन्धान थालेको छ।
सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृतसहितको दुई जनाको टोलीले मङ्गलबारबाट अनुसन्धान थालेको हो । कल सेन्टरले भारतीय नागरिकलाई बैङ्किङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले बताएको छ।
रुपन्देही प्रहरीले गत आइतवार छापा मारेर त्यहाँ भइरहेका गतिविधिलाई नियन्त्रणमा लिएको थियो। ठगी कसूरमा मुख्य अभियुक्तका रूपमा भारतको बिहारका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका–१३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार