काठमाडौं महानगर कल सेन्टरमा नौ हजार ६२९ गुनासो

Technology Khabar ११ श्रावण २०७९, बुधबार

काठमाडौं ।

गत जेठ २४ गतेदेखि निरन्तर सञ्चालनमा रहेको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा नौ हजार ६२९ गुनासो रेकर्ड भएको छ ।

महानगरमा मुख्यगरी तीन प्रकारको गुनासो आउनेगरेको महानगर कल सेन्टरका विभागीय प्रमुख नवराज ढकालले बताए। उनका अनुसार फोहोर व्यवस्थापन, ट्राफिक समस्या र फुटपाथ व्यापारको सबैभन्दा बढी गुनासो आउने गरेको छ। कल सेन्टर सञ्चालन भएको करिब दुई महिनाको अवधिमा सो संख्यामा जिज्ञासा आएको हो ।

कल सेन्टरका प्रमुख भरत पोखरेलका अनुसार कल सेन्टरमा इमेल र लिखित रुपमा पनि जिज्ञासा आउने गरेको छ । उनले भने, “बन्दको १५० र १८ सय खुलापत्रको जवाफ सम्बन्धित निकायले दिइसकेको छ ।” अहिले काठमाडौं महानगरपालिकाको कल सेन्टरमा दैनिक दुई सयभन्दा बढी जिज्ञासा आउनेगरेको छ । पहिले पाँचसयको संख्यामा आउने जिज्ञासाको संख्या अहिले घटेको हो ।

कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुनेगरेको छ । कल सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्ने गरेका छन् ।

“हाम्रो तर्फबाट त्यसको सम्बन्धित विभागमार्फत् सामाधान भइरहेको छ” प्रमुख पोखरेलले भने।

काठमाडौं महानगरले गुनासो समाधान गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको जनाएको छ ।

सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गर्न १६ ठाउँबाट सिधै उठाउन सकिनेगरी व्यवस्थापन गरिएको छ । त्यसका लागि जनशक्ति पनि थप्ने काम हुन्छ । अहिले कल सेन्टरमा पाँच जना मात्रै जनशक्ति छन् ।

हाल कल सेन्टरमा १६६००१०५५११ एघार अंकको टोलफ्री नम्बर सञ्चालनमा छ । सेवाग्राहीको हितलाई ध्यानमा राखेर महानगरले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ ।महागनरका नागरिकले आफ्नो ठाउँमा रहेको समस्याको समाधान कसरी गर्ने, फोहोर व्यवस्थापन कहाँ गर्ने, बाटो बिग्रेको छ के गर्ने ? तार सर्ट हुन सक्ने स्थितिको जानकारी दिने र यसको कसरी समाधान गर्ने ? महानगरको विकास गर्न के–के कुराको आवश्यकता पर्छ ? महानगरमा के कस्तो कार्यक्रम छ ? यसको व्यवस्थापन र सहयोग कसरी गर्नेलगायतका जिज्ञासा कल सेन्टरमा आउने गरेको विभागीय प्रमुख ढकालले बताए।

महानगरको समस्या र विकासलाई जोडेर सेवाग्राहीका जिज्ञासा आउनेगरेको छ । प्रमुख ढकालले भने, “अहिले पहिलेको जस्तो समय छैन मानिसहरु पढेलेखेका छन्, विभिन्न स्रोत साधन सम्पन्न भएका छन्, लिखित र मौखिक दुबै तरिकाबाट जिज्ञासा आउनेगरेको छ” उनले भने, “त्यसका लागि जुन तरिकाबाट जिज्ञासा आएको हो त्यसको प्रतिक्रिया पनि त्यसरी नै जाने गरेको छ।”

यसले सर्वसाधारण जनता लाभान्वित भएका छन् । कल सेन्टरमा आउने जिज्ञासामा महानगर मात्रै नभइ काठमाडौं उपत्यकाभरिकै जिज्ञासा आउनेगरेको उनको भनाइ छ ।

निःशुल्क टोलफ्रि नम्बर रहेको कल सेन्टर टेलिफोन मार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता पनि राम्रो रहेको ढकालले बताए।

धेरै जिज्ञासाको समाधान विभागीय प्रमुख नवराज ढकाल आफैले दिने र बाँकी जिज्ञासाको समाधान वातावरण विभाग, प्रशासन, नगरप्रमुख, उपप्रमुख, नगरप्रहरी, कानुन विभाग, सूचना अधिकारीलगायतले दिनेगरेको उनले बताए। गोरखापत्रबाट

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया